बजेटको आकार नजिक पुग्न थाल्यो नेपालको व्यापार घाटा, गत आर्थिक वर्षमा ११ खर्ब ४३ अर्बको ब्यापार घाटा



काठमाडौं । व्यापार घाटा बजेटको आकार नजिक पुगेको छ । गत आर्थिक वर्षमा नेपाल सरकारले १२ खर्ब ७९ अर्ब रुपैयाँ बजेट ल्याएको थियो । जसमा असार मसान्तसम्मा १० खर्ब ७३ अर्ब रुपैयाँ खर्च भएको थियो ।

नेपालले आर्थिक गत आर्थिक वर्ष २०७४/७५ मा ११ खर्ब ४३ अर्बको व्यापार घाटा बेहोरेको छ ।

नेपालले कूल १३ खर्ब १७ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको भन्सार विभागको प्रारम्भिक तथ्यांक अनुसार व्यापारघाटा बजेट आकारको नजिक पुगेको हो । अझ सरकारले गरेको खर्चभन्दा व्यापारघाटा बढी भएको देखिन्छ ।

सरकारले गत आर्थिक वर्षमा १० खर्ब ७३ अर्ब खर्च गरेको थियो । जबकी व्यापार घाटा ११ खर्ब ४३ अर्ब रुपैयाँ छ । सरकारी खर्चभन्दा व्यापारघाटा ७३ अर्ब रुपैयाँले बढी छ ।

भन्सार विभागको प्रारम्भिक तथ्यांक अनुसार गत आर्थिक वर्षमा १२ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको आयात भएको छ भने ८३ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ । यो तथ्यांकले ११ खर्ब ६० अर्ब रुपैयाँको व्यापार घाटा भएको देखाएको हो ।

विभागका तथ्याङ्क अधिकृत रामप्रसाद वाग्लेका अनुसार आर्थिक वर्ष २०७३/७४ सालमा ९ खर्ब ८४ अर्ब रुपैयाँको आयात भएको थियो भने ७३ अर्बको निर्यात भएको थियो ।

एक वर्षको अवधीमा आयात २ खर्ब ५९ अर्ब रुपैयाँले बढ्दा निर्यात जम्मा १० अर्बले बढेको छ । निरन्तर बढेको व्यापार घाटाले नेपालको निर्यात व्यापार धरासायी नै भएको देखाएको छ ।

नेपालको निर्यात वर्षेनी घट्दै गएको र आयात बढ्दो क्रममा रहेको उनले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्ष २०७३÷७४ मा आयात अंश ९३.१ प्रतिशत रहेकोमा यो वर्ष बढेर ९३.७ प्रतिशतमा पुगेको छ ।

यस्तै, निर्यात अंश गत आर्थिक वर्ष २०७३/७४ सालमा ६.९ प्रतिशत रहेको थियो भने गत वर्ष ६.३ प्रतिशत पुगेको छ । यसले नेपाल पूर्णरुपमा परनिर्भर भएको देखिएको छ ।

‘नेपालले निर्यात कम र आयात बढी गर्दै आएको छ, हरेक वर्ष निर्यात घट्दो र आयात बढ्दो क्रममा छ, यसले हामीलाई परनिभर बनाएको देखाएको छ,’भन्सार विभागका तथ्यांक अधिकृत वाग्ले भने ।

उनले नेपालले कच्चा पदार्थ सस्तो मूल्यमा निर्यात गर्ने, तर त्यही कच्चा पदार्थबाट महङ्गो सामान आयात गर्ने गरेको बताए । नेपालले कच्चा पदार्थबा सामान बनाई निर्यात गर्न सके मात्र अबको आगामी दिनमा आयातमा कम गर्न सक्ने उनको ठम्याई छ ।


क्लिकमान्डु