अमेरिकामा ग्याँस स्टेशनमा काम गर्ने नेपालीमाथि जोखिम बढ्यो



ओक्लोहमाको बद्दीज् ह्याण्डी मार्ट ग्यासमा मंगलबार एक लुटेराले अन्धधुन्ध गोली बर्षाउदा गम्भीर बनेकी गोरखाकी रचना श्रेष्ठ । उनको स्थानीय अस्पतालमा सघन कक्षमा उपचार भइरहेको छ ।

वासिंटन डिसी । अमेरिकामा एक महिनाको अवधिमा यहाँको ग्यास स्टेशन(प्रेट्रोल पम्प)मा काम गर्ने दुई नेपालीमाथि गोली प्रहार भएको छ ।

मंगलबार मात्रै अमेरिकाको ओक्लोहमाको ग्यास स्टेशनमा काम गरिरहेकी गोरखाकी रचना श्रेष्ठमाथी गोली प्रहार गरिएको छ । श्रेष्ठमाथि शरीरका विभिन्न भागमा ८ वटा गोली हानिएको बताईएको छ । उनको चिन्ताजनक अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहरेको छ ।

श्रेष्ठकी श्रीमान कपिल श्रेष्ठको अनुसार उनको उपचार स्थानीय सेन्ट फ्रान्सिस अस्पतालमा भइरहेको छ । यो सामाचार तयार पार्दासम्म उनको ८ वटामा ६ वटा गोली शरिरबाट निकालिएको छ । गोली हान्ने ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गोली उनको गाला, पिठ्युं, पाखुरा, कम्मर, पेट र मुटुको तल्लो भागमा लागेको श्रेष्ठले बताए ।
करिब ३ हप्ता अघि अमेरिकाकै भर्जिनियामा रहेको एक ग्यास स्टेशनमा कार्यरत रेशम बजगाईलाई घटनास्थलमै लुटेराले औजारले हानेर हत्या गरेका थिए । उनलाई लुटपाट गर्न आएका लुटेराले हत्या गरेको बुझिएको छ ।

यस अगाडि गत माघमा यहाँकै टेक्सासको ड्यालसमा रहेको ग्यास स्टेशनमा भएको लुटपाटमा एक नेपालीको हत्या भएको थियो । स्थानीय मनीष पाण्डेको एक्जोन ग्यास स्टेशनमा काम गरिरहेको बेला मध्यरातमा भएको चोरीको क्रममा मारिएका थिए । लुट्न खोजेपछिको प्रतिरक्षाको क्रममा उनको हत्या भएको बुझिएको छ ।

यसै बर्ष न्यूर्योकमा ग्यास स्टेशनमै काम गर्ने नेपाली भाषी भूटानी ज्ञातवहादुर मगरको अज्ञात व्यक्तिहरुद्वारा हत्या गरिएको थियो केही समय अगाडि टेक्सासमै नेपाली चेली समिरा शिवाकोटीको हत्या भएको थियो ।

किन ग्यासमा काम गर्ने धेरै पर्छन निसानामा ?

ग्यास मात्रै होईन अमेरिकामा नगदमा कारोबार हुने किराना पसल, होटल रेष्टुराँहरु पनि उस्तै जोखिममा हुन्छन् । तर यहाँ ग्यास स्टेशन प्राय चोक र भिडभाड भएको स्थानमा राखिएको हुन्छ ।

ग्यास संगै अतिरिक्त आम्दानीको लागि प्रायजसो खुद्रा सामान पाईने स्टोर पनि राखिएको हुन्छ । प्रायजसो स्थानमा खुद्रा नगदमै कारोबार हुने भएको कारण ग्यास स्टेशनमा चोरहरुको ध्यान गढेको हुन्छ । चोरको जोखिम बढेकै कारण अमेरिकाको धेरैजसो स्थानमा नगदको धेरै प्रयोग गरिदैन ।

तर, ग्यासमा भने सबै किसिमका व्यक्तिहरु आउने गर्दछन् । अपराधिक पृष्ठभुमिका व्यक्तिहरु पनि सजिलै आवत जावत गर्ने स्थान हो ग्यास । जसको कारण यस्ता स्थानमा अरु जोखिम बढेको देखिन्छ । जोखिमकै कारण काम गर्ने व्यक्तिको अभावको कारण यस्ता स्थानमा सजिलै काम पाउने आधारमा नेपालीहरु धेरै काम गर्ने गरेका छन् ।

अझै नगदमै तलब पाईने र कागजपत्रसमेत नभएकाहरुलाई पनि काम दिईने भएको कारण पनि कागजपत्र नभएको र विद्यार्थी नेपालीहरु धेरैजसो ग्यासमै काम गर्दछन् ।

कसरी सुरक्षित हुने ?

अमेरिका सुरुमा आउने नेपालीहरुले सजिलै काम पाउने हुनाले सुरुवातमै ग्यासमा काम गर्नेहरु धेरै भेटिन्छन् । नेपालमा जस्तो नभएर अमेरिकामा काम र काम गर्ने स्थानमा अपनाउने सुरक्षाको विषयमा जानकारी नभएकोले उनीहरु नै जोखिममा पर्ने गरेका देखिन्छ ।

अमेरिकामा प्राय काम गर्नेहरुलाई सुरुमै लुटेराहरु कस्तो अबस्थामा आउछन, उनिहरुले कस्तो ब्यबहार देखाउछन? बन्दुक, चक्कु वा केहि पनि नलिकन एकैचोटी नगद भएको रजिष्टर माग्नेलाइ के गर्ने ? सबै सिकाईएको हुन्छ ।

तर प्राय नेपाली र भारतीय व्यवसायीहरुले सञ्चालन गरेको ग्यासमा काम गर्नेहरुलाई यस्ता कुरा सिकाउनेतिर ध्यानै दिईदैन । एक अध्ययनले टेक्सासमा सिवाकोटीको हत्या यस्तै कारणले भएको देखाईएको थियो ।

धेरैजसो घटना लुटपाटको क्रममा लुटेराहरूसँग बादबिबाद र भीडन्त गर्दा भएको देखिएको छ । ग्यास स्टेशनका साहुहरुले आफ्ना ब्यबसायमा लुटेराहरुले लुट्ने सभाबनालाइ ध्यानमा राखि पहिले नै बिमा गरिसकेका हुन्छन ।

लुटेरा आए उनीहरुले जति माग्छन् त्यो पैसा वा अरु सबै सामान दिँदा पनि केही असर गर्दैन । यस्तो अबस्थामा उनीहरुको अनुहार हेर्ने वा बहस गरे मारिदिन सक्छन् । लुटेर भाग्नेवित्तिकै पनि प्रहरीलाई फोन नगर्न जानकारहरुले सुझाव दिन्छन् ।

उनीहरु नजिकै भए आएर प्रहरीलाई फोन गरेको भन्दै मारिदिन सक्छन् । त्यसैले लुटेर आए उनीहरुले मागेको रकम आनन्दले जति माग्छ त्यति दिँदा हुन्छ । त्यसले कसैलाई घाटा हुँदैन । किनभने बीमा र सरकारबाट चोरले लगेको भन्दा कयौं ज्यादा पैसा मिल्न सक्छ । त्यसैले चोरले लगेकोमा कसैलाई घाटा हुँदैन ।
सकेसम्म कामै नगर्नु
नेपाली, भारतीय र पाकिस्तानीहरुको लगानीमा रहेको ग्यास स्टेशनमा काम गर्ने मानिस नपाउँदा नेपालीहरुलाई जसरी पनि फकाएर थोरै धेरै पैसा दिएर वा खानेबस्नेको सम्म व्यवस्था गरेरै भएपनि काममा लगाउने गर्दछन् । तर अहिले ग्यासमा बढेको जोखिमको कारण काम गर्नेमात्रै होईन लगानी गर्ने अमेरिकीहरु पनि न्यून छन् । त्यसैले दुई चार पैसाको लागि नेपालीहरुले जोखिम नमोल्न जानकारहरु अनुरोध गर्दछन । अमेरिकामा कागजपत्र हुनेहरुलाई काम पाउन गाह्रो नभएको र अमेरिकी कम्पनीहरुमा निकै राम्रो सुविधाहरु पनि हुने देखिन्छ । सामान्यतया स्टोरहरुमा धेरै घण्टा काम गरेर हुने कमाई अमेरिकी कम्पनीहरुमा ४० घण्टामै हुने र सुविधाहरु पनि हुने भएको कारण स्टोरहरु अन्तिम उपायको रुपमा मात्रै राख्नुपर्ने विज्ञहरु बताउँछन् ।


क्लिकमान्डु