सरकार र केसी पक्षबीचको वार्ता सकारात्मक बिन्दुमा, केहीबेरमा सम्झौता हुने
काठमाडौं । डा. गोविन्द केसीको अनसन २७ औं दिनमा तोडिने संभावना बढेको छ । केसी पक्ष र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको विश्वस्त श्रोतले जानकारी दिएको छ ।
दुबै पक्षका वार्ताटोलीबीच भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जान लागेको बुझिएको छ ।
बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसी पक्षबीच भएको सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर हुने बताइएको छ ।
वार्तामा कुरा मिलिसकेकोले केसीको अनसन आजै तोडिने नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । केसीको अनसन तोडाउन नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जाने बुझिएको छ ।
आजै मन्त्रिपरिषद्को बैठक बस्दै
यसैबीच, अनसनरत डा. गोविन्द केसीका मागलाई अनुमोदन र समयसामयिक विषयमा छलफल गर्न आजै मन्त्रीपरिषद्को बैठक बस्ने बुझिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठकका लागि मन्त्रीहरुलाई निर्देशन दिइसकेको बताइएको छ ।