कतार माथिको नाकाबन्दी, के छ कारण ?
काठमाण्डौ । अहिले कतारमाथि उसका छिमेकी देश तथा अन्य देशले नाकाबन्दी लगाईरहेका छन् । कतारमाथि नाकाबन्दीको सुत्रपात भने १६ डिसेम्बर २०१५ मा भएको थियो ।
कतार अहिले साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराईन र मिश्र जस्ता देशबाट नाकाबन्दीको सामना गरिरहेको छ ।
२०१५ मा कतारको शाही परिवारका सदस्य सहित २८ जना इराकमा बाजको शिकारका लागि गएका थिए ।
अरबी शाही परिवारमा बाजको शिकार गर्नु प्रतिष्ठा र शौखको विषय हो । शिकारका लागि इराक गएको कतारी परिवारको समूह १६ डिसेम्बर २०१५ मा अपहरणमा पर्यो ।
यो खबरले कतारी शाही परिवार चिन्तित बन्यो । अन्त्यमा यही अपहरणको घटनाको कारणले कतारले छिमेकी देशको नाकाबन्दीको सामना गर्नुपर्यो ।
१६ महिनासम्म कतार सरकार अपहरणमा परेका शाही परिवारको सदस्यको बारेमा अनभिज्ञ थियो ।
१६ महिनापछि कतार सरकारले अपहरणमा परेका मानिसलाई छुटाउनको लागि एक अर्ब डलर भन्दा धेरै रकम फिरौती स्वरुप दियो ।
कतारले दिएको यो रकम इराक तथा अन्य देशका आतंकवादी समूहले पाएको बताईन्छ । शाही परिवारका सदस्यको अपहरण इराकको मिलिशिया संगठन कताइब हिजबुल्लाहले गरेको थियो । यो संगठनले अमेरिकी सैनिकमाथि पनि हमला गरिसकेको छ ।
कतार सरकारले फिरौती स्वरुप पठाएको रकम इराकी कुर्दुस फोर्सका कमान्डर जनरल कासिम सुलेमानीसम्म पनि पुगेको थियो । सिरियन अलकायदासंग जोडिएका हयात अल शामले पनि यो रकम लिएका थिए ।
यसका अलावा कतार सरकारले पठाएको फिरौती रकम साना ठूला धेरै आतंककारी संगठनसम्म पुगेको थियो ।
तर, कतार सरकार भने आफुले फिरौती रकम आतंकारीलाई नदिएको बताउँदै आएको छ । कतार सरकारले भने फिरौती रकम इराक सरकारलाई दिएको बताउने गर्छ ।
कतार सरकारका अनुसार उसले फिरौती स्वरुप पठाएको रकम अझैपनि इराकको राजधानी बगदादमा रहेको केन्द्रीय बैंकको भवनमा रहेको छ ।
१६ महिनासम्म कतार सरकारले आफ्नो शाही परिवारका सदस्यलाई अपहरणमुक्त बनाउन निकै प्रयास गरेको थियो । तर, उसका सबै प्रयास विफल भए । समय बित्दै जाँदा यो अपहरण घटनामा अन्य ठूला आतंककारी समुहपनि जोडिन आएपछि यो घटनाले राजनीतिक रंग लियो ।
अपहरणमा परेका शाही परिवारका सदस्यलाई फरक–फरक स्थानमा राखिएको थियो । उनीहरुलाई एक थान कुरान दिईएको थियो ।
अपहरणकारीले आफ्ना मागमा पैसा र कतारले सहयोग गर्दै आएका अन्य अरब देशको सहयोग फिर्ता लिनुपर्ने बताएका थिए । तर, अन्त्यमा उनीहरुले १ अर्ब डलर रकम फिरौती स्वरुप मागे ।
जनवरी २०१७ मा एक अर्ब डलर र थप १५ करोड डलर रकम अपहरणकारीले माग गरे ।
सन् २०१७ अप्रिल २१ मा फिरौती रकम सहित अपहरणमा परेका सदस्यलाई लिन भनेर कतार एअरवेजको जहाज बगदादका लागि उडेको थियो । कतारले फिरौती रकम सहित जहाज पठाएको केही घण्टामै उसका छिमेकी देशले कतारमाथि नाकाबन्दी लगाउने निर्णय सार्वजनिक गरेका थिए ।
आतंककारी र चरमपन्थीलाई सहयोग गरेको आरोपमा कतारका छिमेकी देशले कतारमाथि नाकाबन्दी लगाए । (बीबीसीको सहयोगमा)