९ वटा ब्रोकरले सुरु गरिसके सेयरको अनलाइन ट्रेडिङ, भरेसम्ममा सबैले गराउने



काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आज (साउन १ गते) देखि सेयरको अनलाइन ट्रेडिङ कारोबार सुरु गराएको छ । प्राविधिक र प्रक्रियागत रुपमा केही काम बाँकी भएपनि परीक्षणको रुपमा सेयरको अनलाइन ट्रेडिङ सुरु गराएको हो ।

नेप्सेले यसअघि नै ५ वटा ब्रोक मार्फत अनलाइन ट्रेडिङ परीक्षण गरिरहेको थियो । असार मसान्तमा रातभरी बसेर नेप्से तथा सेवा प्रदायक कम्पनीका प्राविधिकहरुले अन्य ब्रोकर मार्फत पनि अनलाइन ट्रेडिङ गराउन थालेका हुन् ।

आज १ बजेसम्ममा ९ वटा ब्रोकर मार्फत यस्तो परीक्षणका रुपमा अनलाइन ट्रेडिङ सुरु गरिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

‘प्राविधिक टीमले आज रातभरी बसेर काम गरिरहेको थियो, प्राविधिक कुरा भएकोले सबै ब्रोकरकोबाट अनलाइन ट्रेडिङ एकै पटक सुरु गराउन सकिएन अहिलेसम्म ९ वटा ब्रोकर मार्फत यस्तो कारोबार भइरहेको छ, आज साँझसम्ममा सबै ब्रोकर मार्फत अनलाइन ट्रेडिङ गराउन सकिन्छ भनेर प्राविधिक टोलीले जानकारी दिएका छन्,’ प्रवक्ता पराजुलीले क्लिकमाण्डूसँग भने ।

ब्रोकरले अहिले पुरानो प्रणालीबाट नै कारोबार गराइरहेका छन् । नयाँ प्रणाली अर्थात अनलाइन ट्रेडिङको लागि युजर एस्पेक्टेन्सी टेष्ट (युएटी) भएको छैन । यस्तो टेष्ट गर्नको लागि के कस्ता समस्या आउँछन् भनेर युजरले प्रयोग गरेपछि मात्रै पत्ता लाग्ने र युएटी नगरी पूर्ण कार्यान्वयनमा ल्याउन नपाइने भएको कारण नेप्सेले यस्तो विकल्प सहित काम गरिरहेको हो ।

अनलाइन ट्रेडिङ सुरु भएपछि सेयर लगानीकर्ताले ब्रोकरकोमा गएर आफ्नो युजर नेम र पासवर्ड लिनुपर्ने छ । यस्तो युजर नेम र पासवर्ड प्रयोग गरेर लगानीकर्ताले अहिले पनि आफ्नो अर्डर म्याच भए नभएको जस्ता जानकारी लिन पाउने छन् । पूर्ण रुपमा अनलाइन ट्रेडिङ सुरु भएपछि भने सोही युजर नेम र पासवर्डको प्रयोग गरेर लगानीकर्ताले सेयर खरिद विक्री गर्न पाउने छन् ।

गत फागुन पहिलो साता दुई तिहाइ बहुमत सहितको बाम सरकार बनेयता सेयर बजार घट्दो क्रममा नै छ । कतिपय लगानीकर्ताले बजारमा देखिएको यस्तो निरासालाई कम्युनिष्टसँग लगानीकर्ता डराएको रुपमा ब्याख्या पनि गर्ने गरेका छन् । तर केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएका दिन बढेको बजार अर्थमन्त्रीमा डा. युवराज खतिवडा नियुक्त भएदेखि धेरै घट्न लागेको हो ।

अर्थमन्त्री डा. खतिवडाले पुँजी बजारलाई अनुत्पादक क्षेत्रभन्दै भाषणबाजी गर्ने गरेका छन् भने सेयरमा पुँजीगत लाभकरको बिषय मजाकको रुपमा प्रयोग गरे । उनले कार्यान्वयनमा ल्याएको सेयरमा पुँजीगत लाभकरको बिषय लगानीकर्ताको तिब्र बिरोधपछि फिर्ता भएको छ । यस सम्बन्धमा सिफारिस गर्न बनेको कमिटिले अझै केही सिफारिस गर्न सकेको छैन ।

तर चालु आर्थिक बर्षको लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले सेयर मूल्य २० प्रतिशत घटेपनि मार्जिन कल गर्न नपाइने ब्यवस्थाले सेयर लगानकर्तालाई ठूलो राहत भएको छ । बैंक तथा वित्तीय संस्थाको ऋण तिर्ने प्रयोजनको लागि नै घटेर भएपनि सेयर बिक्री गरिहाल्नुपर्ने बाध्यात्मक अबस्था हटेको छ ।

बजेटले खासै सम्बोधन नगरे पनि र अर्थमन्त्रीले अनुत्पादक भन्दै भाषण गरेपनि नेपाल राष्ट्र बैंकको नीतिगत सुविधाको कारण लगानीकर्तालाई केही राहत भएको छ । लगानीकर्ताले अब सेयर बजार बढ्नको लागि पूर्वाधार तयार हुनुपर्छ भनिरहेको र त्यसको पहिलो शर्त सेयरको अनलाइन कारोबार सुरु हुनुपर्छ भनिरहेको सन्दर्भमा संचालनमा आएको अनलाइन ट्रेडिङले अबको बजारमा सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा लगानीकर्ताको छ ।


क्लिकमान्डु