मेगा बैंक सञ्चालक समितिको अध्यक्षमा पुनः शाह चयन



काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडको सातौं साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । मेगा बैंकको शुक्रबार राति काठमाडौँ सम्पन्न साधारण सभाले आगामी चार बर्षका लागि ६ सदस्यीय नयाँ संचालक समिति चयन गरेको हो ।

साधारण सभाबाट संस्थापक शेयरधनीका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र भोजबहादुर शाह चयन हुनुभएको छ । यसैगरी, सर्वसाधारण शेयरधनीका तर्फबाट मुक्तिराम पाण्डे, बालकृष्ण शिवाकोटी र इन्द्रबहादुर मल्ल ठकुरी निर्वाचित हुनुभएको छ ।

सञ्चालक मध्येबाट सर्वसम्मत रुपमा भोजबहादुर शाहलाई पुनः अध्यक्षमा चयन गरिएको छ । बैंकको अध्यक्षमा पुनः निर्वाचित भएपछि शाहले छोटो समयमै मेगा बैंक नेपालको अग्रणी बैंक बन्न सफल भएकोमा आफूलाई गर्व लागेको बताए ।

यसैगरी, मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले अब मेगा बैंकले रफ्तार लिने बताइन् ।


क्लिकमान्डु