बैंक विरुद्ध राष्ट्र बैंकमा परेको उजुरी सुनुवाइ गर्ने ठाउँमा बैंककै प्रतिनिधि !



काठमाडौं । तपाईंलाई कुनै बैंकले ठग्यो भने तपाईंले गुनासो गर्ने ठाउँ हो नेपाल राष्ट्र बैंक । राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय हो ।

यसरी तपाईंले गरेको उजुरीमाथि छानविन गरी राष्ट्र बैंकले सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिन्छ । त्यसका लागि राष्ट्र बैंकले डेपुटी गभर्नरको संयोजकत्वमा ‘गुनासो सुनुवाइ समिति’ नै बनाएर काम गर्दै आएको छ ।

तर, अब त्यो गुनासो सुनुवाइ समितिमा सम्बन्धीत बैंकका प्रतिनिधि पनि हुने भएका छन् । यसको अर्थ हो तपाईंले जुन बैंकको विरुद्धमा राष्ट्र बैंकमा उजुरी दिनुभएको छ । त्यो उजुरीको सुनुवाइ गर्न त्यही बैंकका प्रतिनिधि पनि सहभागी हुने भएका छन् ।

वाणिज्य बैंकको सन्दर्भमा यो व्यवस्था पहिल्यै थियो । राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिमार्फत् विकास बैंक र फाइनान्स कम्पनी विरुद्ध परेको उजुरीमा पनि सम्बन्धीत संस्थाका प्रतिनिधि सुनुवाइ समितिमा बस्न पाउने व्यवस्था गरेको हो ।

सम्बन्धीत बैंकका प्रतिनिधि नहुँदा राष्ट्र बैंकले एकपक्षीयरुपमा उजुरीकर्ताको पक्षमा सुनुवाइ गरेको र त्यसले बैंकलाई अफ्ठेरो परेको भन्दै बैंकरहरुले गुनासो सुनुवाइ समितिमा सम्बन्धीत बैंक तथा संघको प्रतिनिधि पनि हुनुपर्ने माग गरेका थिए । बैंकरहरुको मागलाई राष्ट्र बैंकले सम्बोधन गरेको हो ।

तर, आफ्नो विरुद्ध परेको उजुरी सुनुवाइ गर्ने समितिमा आफैं हुँदा अब उजुरी गर्नेका पक्षमा कमैमात्र सुनुवाइ हुने आशंका गर्न सकिन्छ ।


पुष्प दुलाल