सरकार स्वेच्छाचारी भयोः शान्ति समाज



काठमाडौँ । सरकारले स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधि शुरु गरेको भन्दै त्यसविरुद्ध मानव अधिकार तथा शान्ति समाजले सिंहदरबार दक्षिण मूलद्वार अघि धर्ना दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको सरकारले कानूनको शासनको उपहास गर्दै स्वेच्छाचारी क्रियाकलाप शुरु गरेको समाजको आरोप छ । यसका विरुद्ध धर्ना दिँदा शान्तिवादीलाई पक्राउ गरिएको समाजका महासचिव उत्तम पुडासैनीले राससलाई जानकारी दिए ।

धर्नाबाट प्रहरीले २५ जना सत्याग्रहीलाई गिरफ्तार गरेको समाजले जनाएको छ । आज दिउँसो १ बजे धर्ना प्रारम्भ हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर र कोषाध्यक्ष बटुकृष्ण ढुंगेललाई गिरफ्तार गर्यो ।

यसैगरी, ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जारा, विभागीय संयोजकहरु प्रताप पौडेल, जयराम पुडासैनी, बाबुराम न्यौपाने, जगन्नाथ पुडासैनी, विपी पौडेल सदस्यहरु सनत आचार्य, रामचन्द्र खतिवडा, रेजीना राई, सुकदेव अधिकारी, ईश्वर पुडासैनी, भगवान् पुडासैनी, गोकुल पुडासैनी, सुरजकुमार बोहरा, टंकप्रसाद गैरे, मुरारीप्रसाद फुयाँल, ईश्वरीप्रसाद नेपालसहित २५ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो ।

धर्नामा स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षा र स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधीको संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

वर्तमान सरकारले आधारभूत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरी निर्णय गरेको समाजले जनाएको छ । न्यायिक निर्णयलाई समेत लत्याउँदै सरकारले आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको समाजको भनाइ छ । पछिल्लो चरणमा सरकार हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीप्रति क्रूर बन्दै गएको अवस्थामा आधारभूत स्वतन्त्रता, मानव अधिकार संरक्षणका लागि समाजले आजदेखि धर्ना शुरु गरेको हो । रासस


क्लिकमान्डु