सरकारी सुविधा लिनेका आफन्तलाई अमेरिकाले दिन छाड्यो भिषा




बाल्टिमोर । अमेरिकामा सरकारी सुविधा लिनसक्ने र लिनेको परिवारलाई भिषा दिन अमेरिकी दुतावासले कडाई गरेको छ । अमेरिकामा फुड स्ट्यामलगायतका सरकारी सुविधा लिनेले गर्ने सहयोगको करारनामा गरेको पत्र बोकेर अमेरिकी दुतावास पुगेका एक डिभीवाला नेपालीलाई हालै दुतावासले भिषा दिन अस्वीकार गरेको छ ।

दुतावासबाट यस्तै घटनामा यस अगाडि पनि नेपालीको भिषा अस्वीकार गरिएको थियो । डिभी परेका पोखराका एक व्यक्तिलाई अमेरिकामा स्पोन्सर (उनको जिम्मा लिने) व्यक्ति सरकारी सुविधाको प्रयोग गर्ने गरेको कारण उनको आर्थिक क्षमतामा प्रश्न उठाउँदै भिषा दिन नमिल्ने पत्र उनलाई थमाईएको हो ।

यस अगाडि नै अमेरिकी विदेशमन्त्रालयले अमेरिकामा कुनै पनि प्रकारको भिषामा आएर सरकारी सुविधा लिने सम्भावना भएकाहरुलाई भिसा नदिन कन्सुलर अफिसरहरुलाई निर्देशन दिएको थियो । त्यसैको प्रभावको रुपमा नेपालीलाई पनि भिषामा कडाई गरिँदै आएको छ ।

यस अगाडि शैक्षिक योग्यता पुगेका तथा योग्यता नपुगेपनि सामान्य सीप भएकाहरुलाई डिभी परे अमेरिकाले सजिलै भिषा दिदै आएको थियो । तर, गत मेमा अमेरिकी सरकारले नयाँ निर्देशन जारी गरेर सरकारमाथि निर्भर हुने संभावना भएका व्यक्तिलाई भिषा नदिन निर्देशित गरेको थियो ।

अमेरिका आएर आफू बेरोजगार भएको, कम आम्दानी भएको भन्दै विभिन्न सरकारी सुविधा लिने (फाईनान्सियल एड) प्रचलन बढिरहेको छ । जसले सरकारमा खर्चको भार परेको भन्दै ट्रम्प प्रशासनले यसमा कडाई गर्ने नीति बनाएको हो ।

अमेरिकी सरकारले राज्य र स्थानीय स्तरका नगद कार्यक्रमहरु मार्फत यहाँ समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको छ । यहाँको सरकारबाट मेडिकेड तथा फाईनान्सियल एड लिएकाहरुले बोलाउने व्यक्तिले पनि यस्तै सुविधा लिन सक्ने भन्दै यसमा कडाई गरेको बुझिएको छ ।

विदेश मन्त्रालयको निर्देशनपछि अमेरिकामा सरकारी सुविधा लिने सम्भावना रहेको वा नरहेको निर्धारण गर्ने जिम्मेवारी समेत भिषा कन्सुलर अफिसरमा रहेको छ ।

अमेरिकामा सरकारी सुविधा लिनसक्ने आशंकामा एक नेपालीको भिषा अस्विकार गरिएको पत्र । स्वतन्त्र पुष्टी नभएको पत्रमा अमेरिकामा स्पोन्सर गर्ने आफन्तसँग आम्दानी गरेको प्रमाणित गर्ने कागजपत्र समेत पेस गर्न भनिएको छ ।

अमेरिकामा रहेकाहरुले विशेष गरेर चर्को करबाट बच्न काम कम गरेको देखाउने र अमेरिकी सरकारबाट सुविधा लिने क्रम पनि बढिरहेको छ । नगदमा आम्दानी हुने कामहरु र रेकर्ड नदेखिने गरी गरेको आम्दानी लुकाएर सरकारी सुविधा लिनेहरु बढेसंगै अमेरिकाले सरकारी सुविधा लिनसक्ने क्षेत्रमा कडाई गरेको हो । अमेरिकामा रहेका अन्य समुदायले समेत यस्तो सुविधाको दुरुपयोग गरेको भन्दै ट्रम्प प्रशासन रुष्ट छ ।

डिभी लोटरीबाट अमेरिका आउनेहरुको आवेदनमा भने दुतावासले अघिल्ला वर्षहरुमा त्यस्तो कडाई गरेको थिएन । अघिल्ला वर्षहरुमा अमेरिकामा रहेका स्पोन्सरहरुको विस्तृत अध्ययन गरिँदैन थियो । यसलाई ग्रिनकार्ड र सामाजिक सुरक्षा कार्ड डेलिभरी गर्ने ठेगानाको रुपमा मात्र हेरिँन्थ्यो । अब अमेरिका रहेको सहयोग गर्ने व्यक्तिको आर्थिक अवस्थाको विषयमा समेत जाँच गर्न सुरु गरिएसँगै सरकारी सुविधा लिनेहरुले स्पोन्सर गर्न समेत समस्या हुने भएको छ ।

कति आम्दानी हुनुपर्छ स्पोन्सर गर्न ?
गत मेमा अपडेट गरिएको पब्लिक चार्ज सम्बन्धित व्यवस्था अनुसार नेपालमा रहेका डिभी अमेरिका तथा अन्य आप्रवासीको रुपमा आउन लागेका आफन्तहरुलाई स्पोन्सर गर्न २ जनाको परिवार छ र अमेरिकामा सुरक्षा निकाय बाहेकका क्षेत्रको व्यक्ति हो भने (अलास्का र हवाई राज्यबाहेक) कम्तिमा वार्षिक २० हजार ५ सय ७५ डलरको आम्दानी हुनुपर्छ ।

परिवार संख्याको आधारमा स्पोन्सरको लागि आवश्यक न्यूनतम वार्षिक आम्दानी

यो रकम परिवार संख्या बढेसँगै बढ्दै जान्छ । अलास्कामा बसोबास गर्ने हो भने २ जनाको परिवारको लागि कम्तीमा २५ हजार ७ सय र हवाईमा २३ हजार ६ सयको वार्षिक आम्दानी हुनुपर्छ । सुरक्षा निकायमा हो भने तोकिएको भन्दा ४ हजार डलर कम आम्दानी भएपनि स्पोन्सर गर्न पाईन्छ । कम्तीमा ४ जनाको परिवार हो भने कम्तीमा ३१ हजार ३ सय वार्षिक पारिवारीक आम्दानी भएमात्र नेपालमा रहेको आफन्तलाई स्पोन्सर गर्न पाईन्छ ।


क्लिकमान्डु