निक्षेप तथा कर्जा सुरक्षण कोषको जिम्मा सहसचिब पोखरेललाई
काठमाडौं । अर्थमन्त्रालयले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा मन्त्रालयका सहसचिब अर्जुन प्रसाद पोखरेललाई नियुक्त गरेको छ । अर्काे ब्यवस्था नभएसम्मका लागि पोखरेललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।
गत आइतबार अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै पोखरेललाई यस्तो जिम्मेवारी दिएका हुन् । सोही दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारीको जिम्मेवारी मन्त्रालयकै उपसचिब रमेश अर्याललाई दिइएको छ ।
यी दुबै निकायमा पूर्ववती शेरबहादुर देउवा नेतृत्वको सरकारले खुल्ला प्रतिस्पर्धाको आधारमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । जसअनुसार कोषको प्रमुख कार्यकारी अधिकृतमा विष्णुबाबु मिश्र र नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिंह साउद नियुक्त भएका थिए ।
वर्तमान सरकारले यसअघिको सरकारले गरेको सबै नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै ती दुबै निकाय प्रमुख कार्यकारी अधिकृत विहिन थिए ।
कोषको अध्यक्ष नेपाल सरकारको सचिब हुने ब्यवस्था भएकोले मन्त्रालयले प्रमुख कार्यकारी अधिकृतमा सहसचिब पोखरेललाई नियुक्त गरेको हो । अहिले कोषको अध्यक्ष महालेखा नियन्त्रक रामकुमार शर्मा छन् । पोखरेल अर्थमन्त्रालयको तर्फबाट कोषको संचालक सदस्य थिए ।