उपकुलपति कोइराला भन्छन्– ‘म पिकनिकको लागि क्यानडा जान लागेको थिईँन्’



काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा अपराधीलाई जस्तो छापामार शैलीमा आफूलाई विमानस्थलबाट नियन्त्रणमा लिईएको आरोप लगाएका छन् ।

क्यानडाको भ्यानकुभर शहरमा आयोजना हुन लागेको १७ औं विश्व संस्कृत सम्मेलनमा भाग लिन जाने क्रममा हिजो शनिबार सरकारले त्रिभुवन विमानस्थलबाट नियन्त्रणमा लिएको भोलिपल्ट आज आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कोइरालाले यस्तो आरोप लगाएका हुन् ।

उनले वर्तमान सरकार सर्वसत्तावादको चगुंलमा फसेको र प्राज्ञिक क्षेत्रलाई कब्जामा लिन उद्धत रहेको समेत आरोप लगाए । त्यसैगरी उनले कम्युनिष्टले संस्कार र र सस्कृति मास्न लागेको आरोप समेत लगाए ।

उनले आफूलाई छापामार शैलीमा पूर्व निर्धारित कार्यक्रममा भाग लिन जानबाट बञ्चित गरेको गुनासो पोखे । उनले भने,‘क्यानडामा हुने विश्व संस्कृत सम्मेलनमा भाग लिनको लागि अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थिएँ, प्रहरी लगाएर मलाई पक्राउ गरियो, कुनै कारण देखाईएन ।’

यो घट्नाले उक्त सम्मेलनमा भाग लिन आउने १११ राष्ट्रहरुमा समेत नेपालको सरकारको नकरात्मक सन्देश प्रवाह भएको उनको भनाई छ । उनले भने,‘म क्यानडामा पिकनिकको लागि जान खोजेको थिईँन्, हाम्रो सभ्यता, संस्कृत र संस्कृतिको प्रर्वद्धन तथा विकासको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा भाग लिनको लागि जान लागेको थिएँ ।’

हवल्दारी पाराले विश्व विद्यालय नचल्ने दाबी गर्दै उनले विश्वविद्यायलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई आग्रह गरे ।

सो कार्यक्रममा नेपाल प्राज्ञिक संघका अध्यक्ष प्रा. रामेश्वर उपाध्यायले शनिबार अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कोईरालालाई पक्राउ गर्नु आपत्तिजनक र सरकारको गम्भिर भूल भएको टिप्पणी गरेका छन् ।

नेपाल कर्मचारी संघका प्रतिनिधि रमेश जोशीले ८० प्रतिशत हिन्दुहरु रहेको नेपाललाई धर्मनिरपेक्षता घोषणा गर्नु गल्ती भएको बताएका छन् ।
उनले भने,‘नेपालमा ८० प्रतिशत हिन्दुहरु बसोबास गर्ने मुलुक हो तर धर्मनिरपेक्षता घोषणा गरियो, पछिल्लो समयमा सरकार निरंकुश बन्दै गईरहेको छ, बहुमतको दम्भले सरकार चलेको छ, तानाशाह शैलीको घोर भत्सर्ना गर्दछु ।’


क्लिकमान्डु