आमसञ्चार ऐनको मस्यौदाः सञ्चार संस्थाले आइपिओ पनि जारी गर्न पाउने

175
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघले आमसंचार ऐनको मस्यौदा तयार पारेको छ । मस्यौदामा संचार संस्थाले सर्वसाधारणलाई सेयर (आइपीओ) जारी गर्ने बाटो खुल्ला गर्न प्रस्ताव गरिएको छ ।

संचार संस्थालाई पनि पब्लिक कम्पनीको रुपमा दर्ता गर्न दिने र त्यस्तो संस्थाले सर्बसाधारणबाट सेयर पुँजी जुटाउन सक्ने बाटो खुल्ला राखिएको महासंघका अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए ।

‘संचार संस्थालाई पब्लिक कम्पनीको रुपमा दर्ता गर्न पाउने ब्यवस्था प्रस्ताव गरिएको छ, यसो भयो भने एउटै प्रवद्र्धकको १५ प्रतिशतभन्दा बढी सेयर हुन नहुने र त्यस्तो संस्थाले आइपीओ जारी गर्न पाउने लगायतका अन्य सुविधा पनि दिन सकिने प्रस्ताव महासंघको हो,’ अध्यक्ष आचार्यले क्लिकमाण्डूसँग भने ।

प्रस्तावित ऐनको मस्यौदाको दफा ५४ मा आमसंचार माध्यमलाई दिइने सुविधाको बारेमा उल्लेख छ । सो दफाको उपदफा १ मा ‘आमसञ्चार माध्यमले आफ्नो श्रेणी र उद्देश्यको आधारमा तोकिए बमोजिमका मान्यता र सुविधा प्राप्त गर्न सक्नेछन्’ भन्ने उल्लेख छ ।

यस्तै दफा २ मा ‘पब्लिक लिमिटेड अन्तर्गत आमसञ्चार माध्यम संचालन गर्न चाहेमा विशेष सुविधा दिनसक्नेछ,’ भन्ने ब्यवस्था छ ।

मस्यौदामा लगानीको सीमा पनि तोकिएको छ ।

‘कुनै आमसञ्चारमाध्यममा पचास प्रतिशतभन्दा बढी लगानी गरी सञ्चालन गरेका ब्यक्ति, परिवार वा समूहलाई अन्य प्रकाशन वा प्रसारण माध्यमको स्वामित्वमा ४९ प्रतिशतभन्दा बढी हिस्सा हुने गरी लगानी गर्न पाउनेछैन, प्रस्तावित ऐनको मस्यौदाको दफा ५१ मा भनिएको छ ।

‘तर यो व्यवस्थाले त्यस्तो व्यक्ति, संस्था वा व्यापारिक समूहलाई अन्य प्रकृतिका प्रकाशन वा फरक भाषा, विधा वा आवधिक प्रकाशनको अनुमतिपत्र प्राप्त गर्न बन्देज लगाएको मानिने छैन’ पनि भनिएको छ ।

Skip This