जनता बैंकले जुम्लामा गर्यो स्वास्थ्य शिविर



काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडको आयोजनामा देशको अति विकट क्षेत्र कर्णाली प्रदेशको जुम्लामा ३ दिने बृहत स्वास्थ्य शिविर तथा आँखा शिविर सम्पन्न गरिएको छ ।

संस्थागत सामाजिक उत्तर दायित्वमा ग्रामिण स्वास्थ्यलाई प्राथमिकतामा राखी देशको विभिन्न क्षेत्रमा विशेष गरी स्त्री तथा प्रसूति रोग सम्बन्धि र आँखा उपचारको लागि निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने क्रममा जुम्ला जिल्लाको तातोपनी गाउँ पालिकामा असार १६, १७ र १८ गते बृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

आँखा परीक्षण तथा मोतिबिन्दुको अपरेशन, स्त्री तथा प्रसूती रोग र सामान्य स्वास्थ्य परीक्षणको शिविर सञ्चालन गरिएकोमा कूल १ हजार १ सय ४५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । एक हजारको संख्यामा आँखा परीक्षण गरिएकोमा सय जना भन्दा बढीमा मोतिबिन्दुको समस्या देखिएको थियो ।

सो मध्ये मोतिबिन्दुले ग्रस्त भई सकेका ४९ जना विरामीको निःशुल्क अपरेशन गरिएको थियो । साथै विरामीहरुलाई आवश्यक औषधि र चस्मापनि निःशुल्क वितरण गरिएको थियो । विरामीहरुको विपन्न आर्थिक अवस्थालाई मध्ये नजर गरी अपरेशन गरेका विरामी तथा कुरुवाको लागि खाने, बस्ने र यातायातको व्यवस्था बैंकले नै गरिदिएको थियो ।

सोही अवसरमा जनता बैंकको तर्फबाट स्थानीय स्वास्थ्य चौकीलाई विभिन्न प्रकारका ५० हजार मूल्य वरावरको औषधि हस्तान्तरण गरियो । तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने मार्फत तातोपानी शाखाका शाखा प्रबन्धक बिनोदकुमार आचार्यले उक्त औषधिहरु हस्तान्तरण गरेका हुन् ।
औषधि हस्तान्तरणको अवसरमा गाउँ पालिकाका अध्यक्ष न्यौपानेले ८ वडामा विभाजित गाउँ पालिकाका अन्य वडाहरुमा पनि आँखा सम्बन्धि समस्या रहेकोले वडा स्तरमा पनि आँखा शिविर सञ्चालनको लागि अनुरोध गरेको बैंकद्वारा प्रकाशित बिज्ञप्तीमा जनाइएको छ ।

तातोपानी गाउँ पालिकामा २०७५ बैशाखदेखि जनता बैंकको शाखा सञ्चालनमा रहेको छ । नेपाल नेत्र ज्योति संघ, हिमालय आँखा अस्पताल, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न गरिएको बैंकले जनाएको छ ।


क्लिकमान्डु