सुन्तलाको बिरुवा बेचेर पाँच लाख आम्दानी, १९ हजार सुन्तलाका बिरुवा बिक्री



म्याग्दी । अन्नपूर्ण गाउँपालिका–३ फगामका जोकबहादुर विकले सुन्तलाको बिरुवा बेचेर पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएको छ ।

विगत पाँच वर्षदेखि नर्सरी स्थापना गरी सुन्तला, कागती लगायतका बिरुवा उत्पादन गर्दै आएका विकले असारको दोस्रो हप्तासम्म १९ हजारभन्दा बढी सुन्तलाका बिरुवा बिक्री गरेका छन् ।

रघुगंगा, मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाका कृषि सेवा केन्द्र तथा किसानले विकको नर्सरीमै पुगेर बिरुवा खरिद गरेका हुन् । उनले चार हजार कागतीका बिरुवासमेत बिक्री गरेका छन् । प्रतिबिरुवा २० देखि २५ सम्ममा बिक्री हुन्छ ।

“बिरुवा सबै बिक्री हुने भएकाले नर्सरीतर्फ उत्साहित छु”, उनले भने । कृषि सेवा केन्द्रमार्फत तालीम लिएर नर्सरी स्थापना गरेका विकले हरेक वर्ष बिरुवाको माग बढ्दै गएको बताए ।

सुन्तलाको बिरुवाका लागि तनहुँ, गोर्खा र धादिङबाट समेत माग आउने गरेको छ । बिरुवा स्थानीयस्तरमै खपत भएपछि माग पूर्ति गर्न नसकिएको उनको भनाइ छ ।

यस्तै, फगामकै दिलमायाँ तिलिजाले समेत दुई लाखको सुन्तलाको बिरुवा बिक्री गरेका छन् । मनसुन शुरु भएपछि यहाँका किसान सुन्तला, कागती लगायतका फलफूलका बिरुवा रोप्न व्यस्त छन्। स्थानीय तहले समेत किसानलाई अनुदानमा फलफूलका बिरुवा वितरण गरिरहेका छन् । रासस


क्लिकमान्डु