शेयर बजार घट्दै, स्वीस बैंकमा पैसा लुकाउने नेपाली बढ्दै



काठमाडौं । शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । बुधवार केही बढे पनि बजारले एक वर्षदेखि बियरिस ट्रेण्ड देखिएको छ । कुनैबेला दैनिक २ अर्ब रुपैयाँसम्म कारोबार हुने सेयर बजारमा अहिले २० देखि २५ करोड रुपैयाँको मात्रै कारोबार हुने गरेको छ ।

शेयर बजार घटिरहेको समयमा स्वीस बैंकमा पैसा लुकाउनेको संख्या भने बढेको छ । यो एउटा संयोग पनि हुन सक्छ ।

अर्थतन्त्रको ऐनाको रुपमा शेयर बजारलाई लिइन्छ । तर, अर्थतन्त्रको ऐनाको स्थिति भने अहिले दिन प्रतिदिन ओरालो लाग्दै गएको छ ।

स्वीजरल्याण्डको केन्द्रीय बैंक स्वीस नेशनल बैंक (एसएनबी)ले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०१७ को अन्त्य सम्ममा नेपालीहरुले ३२ करोड २८ लाख ८४ हजार स्विस फ्राङ्क स्विजरल्याण्डको बैंकमा राखेका छन् ।

नेपाली रुपैयाँमा परिवर्तन गर्दा यो रकम ३५ अर्ब रुपैयाँभन्दा बढी हुन आउने देखिन्छ ।

स्रोत देखाउन नपर्ने हुँदा विश्वभरबाट स्वीजरल्याण्डका बैंकमा पैसाको पार्किङ हुन्छ । सम्पत्ति शुद्धिकरण निवारण विरुद्धको अभियान शुरु नहुँदा स्वीस बैंकहरुले कुन देशका नागरिकको कति रकम छ, त्यो सार्वजनिक गर्न पर्दैनथ्यो ।

तर, सम्पत्ति शुद्धिकरण विरुद्धको विश्वव्यापी अभियानको कारण स्वीस बैंकहरुले यस्तो प्रतिवेदन दिन थालेका हुन् ।

एसएनबीको प्रतिवेदन हेर्ने हो भने वर्षेनी नेपालीहरुले स्वीस बैंकमा राख्दै गएको पैसा भने बढ्दै गएको देखिन्छ ।

एसएनबीको प्रतिवेदनमा सन् २००८ मा स्वीस बैंकमा नेपालीहरुको पैसा ८ करोड ६२ लाख २० हजार थियो । सो रकम सन् २०१७ मा आइपुग्दा तीन गुणाले बढेको छ ।

प्रतिवेदन हेर्दा सन् २०१६ मा नेपालीहरुको ३१ करोड स्वीस फ्राङ्क स्वीजरल्याण्डको बैंकमा थियो ।

सन् २०१४ मा १२ करोड ५९ लाख ५९ लाख स्वीस फ्राङ्क नेपालीहरुको रहेकोमा सन् २०१३ मा भने त्यो घटेर ८ करोड ४८ लाख स्वीस फ्राङ्कमा सीमित भएको थियो ।

नेपालमा कानूनी रुपमा विदेशमा पैसा लैजान प्रतिबन्ध छ । तर, हुन्डीको माध्यमबाट संसारको जुनसुकै कुनामा पनि पैसा जाने गरेको छ ।

कतिपय प्रतिष्ठित व्यवसायीले पैसा लगेको कुरा सार्वजनिक समेत गरेका छन् । कानूनले प्रतिबन्ध लगाएपनि व्यवहारिक रुपमा भने वर्षेनी ठूलो रकम नेपालबाट बाहिरिने गर्छ ।

विगतमा स्वीस लिकमा कुन व्यवसायीको रकम कति छ ? भन्ने सार्वजनिक भएको थियो ।

तर, नियामक निकायले त्यो प्रतिवेदनलाई आधार मानेर कुनैपनि व्यक्तिलाई कारवाही भने गरेन । त्यो बेला प्रतिष्ठित मानिएका व्यवसायीहरुले स्वीजरल्याण्डको बैंकमा लुकाएको रकम सहित सार्वजनिक भएको थियो ।


क्लिकमान्डु