आन्तरिक उडानमा ५० भन्दाबढी जहाज, कसको कति जहाज ?



काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीबीच विमान थपेर सेवा विस्तार गर्ने तीव्र प्रतिस्पर्धा देखिएको छ । विमान कम्पनीहरुले धमाधम आधुनिक सुविधासम्पन्न ठूला जहाज भित्र्याइरहका छन् ।

आन्तरिक उडान भर्ने जहाजको संख्या ५० भन्दा बढी पुगिसकेको छ । अझै केही जहाज थपिने क्रममा छन् । यसले आन्तरिक उडान निकै प्रतिस्पर्धी बन्न लागेको विमान सञ्चालक बताउँछन् ।

कतै आन्तरिक उडानमा ‘फेयर वार’ चल्ने त होइन भन्ने शंका पनि उब्जाएको छ । आन्तरिक उडानमा बुद्ध, यति र श्री एयरलाइन्स बीच ठूला जहाज थप्ने प्रतिस्पर्धा चलेको छ ।

एक वर्ष अगाडि मात्रै १७ वर्ष हेलिकोप्टर सेवाबाट आन्तरिक उडानमा प्रवेश गरेको श्री एयरलाइन्सले लामो सयमदेखि एकाधिकार कायम गर्दै आएका बुद्ध र यति एयसलाइन्ससँग प्रतिस्पर्धामा उत्रिएको छ । जहाज कम्पनीहरु बीचको प्रतिस्पर्धाले हवाई यात्र गर्ने यात्रुलाई पनि सहजता भएको छ । विमानबाट यात्रा गर्ने यात्रुसंख्या बढेपछि विमान कम्पनी सेवा विस्तारको होडबाजीमा उत्रिएका हुन् ।

साना विमानबाट उडान भरिरहेका कम्पनीले ठूला (धेरै सिट) विमान ल्याइरहेका छन् । केही वर्ष अघिसम्म सिजनमा १५ दिन अगाडि नै टिकट बुकिङ हुन्थ्यो, पछि टिकट पाइदैनथ्यो । तर, अहिले त्यस्तो अवस्था अन्त्य भएको छ, प्रतिस्पर्धा बढेपछि सिजनमा पनि टिकट पाइने अवस्था आएको सिम्रिक एयरलाइन्सका बजार व्यवस्थापक प्रज्जवल थापा बताउँछन् ।

ठूला विमान कम्पनीबीच विमान थप्ने प्रतिस्पर्धाले बजारमा अस्वस्था प्रतिस्पर्धा बढ्न सक्ने उनको अनुमान छ । अस्वस्थ प्रतिस्पर्धा बढेसँगै साना लगानीमा रहेको विमान कम्पनी विस्थापित हुने अवस्था पनि आउने सक्ने उनको भनाइ छ ।

आन्तरिक उडानमा सबैभन्दा बढी बजार हिसा ओगट्न सफल बुद्ध एयरलाइन्सको जहाज संख्या मात्रै ११ वटा भएको छ । बुद्ध एयरलाइन्सको बजार हिसा पनि विस्तारै घट्दो छ । श्री एयरलाइन्सको आगमसँगै बुद्धको बजार हिसा घटिरहेको छ ।

सन् २०१८ को पहिलो तीन महिनामा बुद्धको बजार हिसा ४६ प्रतिशत छ । कुनै बेला बुद्धको बजार हिसा ६० प्रतिशत भन्दा बढी थियो ।

बुद्ध एयरलाइन्ससँग अहिले ६ वटा एटिआर ७२–५००, ३ वटा एटिआर ४२–३२० र दुई वटा बीचक्राफ्ट १९००‘डी’ जहाज भएको छ । बुद्धले अहिले काठमाडौंबाट नेपालगञ्ज, धनगढी, भैरहवा, सुर्खेत, पोखरा, विराटनगर, भद्रपुर, भरतपुर र सिमरामा नियमित उडान गर्दै आएको छ । यसबाहेक पनि बुद्धले पोखरा–भरतपुरका पनि नियमित उडान गर्दै आएको छ ।

बुद्धले अन्तर्राष्ट्रिय उडानमा पनि भारतको बनारसमा पनि सातामा दुई वटा उडान सुचारु गरेको छ । यसैगरी बुद्धले नेपालगञ्जबाट दिल्ली उडानका लागि पनि प्रक्रिया थालनी गरेको छ ।

यस्तैगरी आन्तरिक उडानमा दोस्रो बजार हिसा ओगट्न सफल एयरलाइन्स यति हो । यतिले पनि पछिल्लो समय ठूला जहाज भित्राउन थालेको छ ।

यति एयरलाइन्सले अहिले आन्तरिक उडानमा ८ वटा जहाजबाट सेवा प्रदान गर्दै आएको छ । यति एयरलाइन्सको प्रमुख प्रतिस्पर्धी अहिले श्री एयरलाइन्स बनेको छ । यतिसँग अहिले दुई वटा एटीआर र ६ वटा जेटस्ट्रिम जहाज छन् ।

यसैगरी आन्तरिक उडानमा प्रवेश गरेको एक वर्षमै श्री एयरलाइन्स आक्रम रुपमा प्रस्तुत भएको छ । श्री एयरलाइन्सले एक वर्षको अवधिमा सिआर जे ५० सिट र ७२ सिट क्षमताको बम्बार्डियर चार वटा जहाज बनाइसकेको छ । श्रीले आफ्नो बजार हिसा १५४ प्रतिशतको हाराहारीमा बनाउन लागिसकेको छ । श्रीले अहिले नेपालगञ्ज, धनगढी, भैरहवा, राजविराज, विराटनगर र भद्रपुरमा नियमित उडान गर्दै आएको छ ।

यसैगरी सौर्य एयरलाइन्सले पनि दुई वटा बम्बार्डियर सीआरजे जहाज मार्फत आन्तरिक उडानमा सेवा प्रदान गर्दै आएको छ ।

यस्तैगरी कुनै समय एक दर्जन विमानबाट आन्तरिक उडान भरेको नेपाल वायुसेवा निगमसँग पनि अहिलो आन्तरिक उडान गर्ने जहाज संख्या ८ वटा पु्गेको छ ।

नेवानिसँग अहिले ४ वटा वाई १२, २ वटा एमए ६० र दुई वटा ट्विनअटर जहाज छन् । साथै नेवानिले आन्तरिक उडानकै लागि फेरि ६ वटा ट्विनअटर जहाज खरिद प्रक्रिया थालनी गरेको छ ।

यसैगरी, आन्तरिक उडानमा दुई वटा जहाज मार्फत सेवा दिँदै आएको सिम्रिक एयरलाइन्सले पनि नयाँ जहाज ल्याउने योजना बनाइरहेको छ । यसैगरी दुर्गमा हवाई सेवा दिँदै आएको तारा एयरसँग ६ वटा, गोमासँग पाँच वटा, मकालुसँग २ सिता एयरसँग ४ वटा जहाज रहेको छ । आन्तरिक उडानका विमान थपिएका छन् । तर, गन्तव्य थपिन सकेका छैनन् ।

सरकारले विभिन्न ठाउँमा विमानस्थल निर्माण गर्ने बताए पनि प्रगति देखिएको छैन । आन्तरिक उडानमा सबैभन्दा बढी यात्रुचाप भैरहवा, विराटनगर, धनगढी, नेपालगन्ज, पोखरा, सिमरा, भद्रपुर र लुक्लमा छ । यसबाहेक नेपालगन्ज विमानस्थललाई वेश बनाएर रारा, सिमिकोटलगायत कर्णाली अञ्चलमा केही सीमित कम्पनीले उडान भरिरहेका छन् ।

विमान कम्पनीका लागि माउन्टेन फ्लाइट पनि राम्रो आम्दानी हुने उडान बनेको छ । सुगमको उडानमा प्रतिस्पर्धा बढे पनि दुर्गम उडानमा खासै प्रतिस्पर्धा छैनन् । अफ सिजनमा विमान कम्पनीले सस्तो भाडामा यात्रु बोकेर अस्वस्थ प्रतिस्पर्धामा उत्रिने क्रम बढ्दो छ ।


क्लिकमान्डु