५८ लाखमा बनेको रोटरी मुसहर नमूना बस्ती हस्तान्तरण



चितवन । चितवनको रत्ननगर नगरपालिका–७ सिसवारमा निर्माण भएको ‘रोटरी मुसहर नमूना बस्ती’ हस्तान्तरण गरिएको छ ।

रोटरी क्लब अफ चितवन, रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लब अफ गैँडाकोटको अगुवाइमा ‘रोटरी मुसहर नमूना बस्ती’ निर्माण गरिएको हो ।

गएको माघ १२ गतेबाट उक्त बस्ती निर्माण शुरु भएको थियो । घर निर्माण भए पनि अन्य बगैँचा र सामुदायिक भवन निर्माणको काम भने बाँकी नै छ ।

बस्ती हस्तान्तरण कार्यक्रममा रोटरियन अनिलकुमार थपलियाले राहत वितरणका लागि आउँदा ओत लाग्ने ठाउँ नभएको देखेपछि अभियान चलाएर बस्ती निर्माण गरिएको बताए ।

५८ लाख ३४ हजार लागतमा निर्माण भएको नमूना बस्तीको आधा खर्च भने हस्तबहादुर भट्टराई प्रतिष्ठानले बेहोरेको निर्माण समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । अन्य विभिन्न संघसंस्था, रोटरियन र नगरपालिकाबाट पनि सहयोग प्राप्त भएको छ ।

अझै सो क्षेत्रमा आउने बाटो निर्माणका लागि आधा रकम बेहोर्ने प्रतिष्ठानका अध्यक्ष रामकुमार भट्टराईले बताए ।

पहिलो चरणमा १२ परिवारका लागि घर निर्माण भएको छ । पुन १२ घर निर्माण गर्ने योजना रोटरीको छ । एउटा घरमा भान्सासहित तीनवटा कोठा र शौचालय बनाइएको छ । बाल उद्यान, सामुदायिक भवनसमेत निर्माण गरिने र हरेक घरका लागि एक एक वटा ट्यूवबेल निर्माण गरिएको छ ।

चितवनको सौराहा नजिकै रत्ननगर–७ मा २६ जना मुसहरको नाममा खरिद भएको १५ कट्ठा सात धुर जग्गामा उक्त नमूना बस्ती बनाइएको हो ।
बस्ती हस्तान्तरणमा मुसहर आफ्नो पोषाकमा सजिएर खुशी मनाएका थिए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले चेपाङ र मुसहरलाई स्नातकोत्तरसम्म पढ्नका लागि नगरपालिकाले सहयोग गर्ने बताए ।

मुसहर बस्तीकी अगुवा भगवन्ती मुसहरले एउटै घरमा दुई तीन परिवार बस्न बाध्य भएको अवस्थामा घर निर्माण भएपछि सहज भएको बताए । रासस


क्लिकमान्डु