असारको पहिलो साता मै ११ व्यवसायी माथि कारबाही



काठमाडौं । वाणिज्य, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले असार महिनाको शुरुको साता मै ११ जना व्यवसायीलाई कारबाही गरेको छ ।

विभागले अनुगमनका क्रममा उपभोग्य तथा खाद्य सामाग्रीमा अखाद्य वस्तु फेला पारेपछि ती व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको हो ।

काठमाडौंका ८ जना र ललितपुरका ३ जना गरी ११ जनालाई कारबाही गरिएको हो । उनीहरुलाई कालोबजारी ऐन अन्तर्गतको मुद्दा चलाइएको छ ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले भने– ‘काठमाडौंको चाबहिल, जोरपाटी, कालिमाटी, कलंकी, गोंगबु, मित्रपार्क, नयाँबानेश्वर र नारायनटारका गरी ८ वटा पसल र ललितपुरको बालकुमारीमा रहेकोका ३ वटा होलसेल पसलका व्यवसायीलाई कारबाहीको दायरामा ल्याएका छौँ, केही धरौटीमा छुटे केही बाँकी छन् ।’

अनुगमनका क्रममा अधिकांश होलसेल तथा डिपार्टमेन्ट स्टोरहरुले मिति सकिएका, एक्सपायर मिति नराखिएका र एमआरपी मूल्य नै नराखिएका खाद्य तथा उपभोग्य सामानहरु बिक्रीका लागि राखेको पाइएको महानिर्देशक गौचनले जानकारी दिए ।

बजेट भाषण लगत्तै सबैजसो सामाग्रीमा मूल्य वृद्धी भएको गुनासो आएपछि विशेष गरेर खाद्य वस्तुको अनुगमनलाई तीब्र परिएको उनले बताए । तेल, चिनी, चामल, पानी, रक्सी, बियर, चाउचाउ, बिस्कुट लगायतका सामाग्रीमा यस्तो कैफियत भेटिएको उनले जानकारी दिए ।

‘अब शिलबन्दी गरेका पसलहरुको शिलबन्दी खोलिन्छ, मिति सकिएका, एमआरपी नभएका तथा मिति नै नराखिएका पसलहरुका सामाग्रीहरु कि सम्बन्धित स्थानका प्रहरी कार्यलयलाई बुझाउने काम गरिन्छ नत्र छुट्टै स्टोरमा राख्ने प्रक्रियामा लग्छौँ । अन्य सामान बेच्ने पाउँछन्, तर मिति सकिएको तथा एमआरपी नै नभएका सामान वा खाद्य सामाग्री छुट्याएर राख्नु पर्छ, त्यसो गरे हामी केही गर्दैनौँ,’ गौचनले भने ।

जेठ महिनामा १ हजार ४८ फर्ममा अनुगमन

वाणिज्य, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले जेठ महिनामा १ हजार ४८ व्यापारिक फर्ममा अनुगमन गरेको छ । विभागले उपत्यका भित्र ६ सय १९ र उपत्यका बाहिर ३ सय २९ वटा व्यापारिक फर्ममा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा विभागले २ सय १५ वटा व्यापारिक फर्मलाई मूल्य सुचि राख्न निर्देशन दिएको विभागले जानकारी दिएको छ । विभागले १ सय ८ वटा व्यापारिक फर्मलाई साइन बोर्ड राख्न निर्देशन दिइएको छ । लेबल नभएका सामान बिक्री गर्ने १ सय ६७ वटा व्यापारिक फर्मलाई निर्देशन दिइएको छ ।

२ सय ३८ वटा व्यापारिक फर्मलाई व्यापार दर्ता प्रमाणपत्र पेश गर्न तथा नबीकरण गर्न निर्देशन दिइएको विभागले जानकारी दिएको छ । नापतौल प्रमाणपत्र पेश गर्न तथा नापतौलको उपकरण राख्नका लागि २ सय ४२ वटा व्यापारिक फर्मलाई निर्देशन दिइएको छ ।

७ वटा फर्मलाई खाद्य सञ्चालन अनुमति पत्र पेश गर्न निर्देशन दिइएको छ । सरसफाइमा सुधार गर्न भनी ५९ वटा फर्मलाई निर्देशन दिइएको छ । १ सय ६४ वटा व्यापारिक फर्मलाई भ्याट वा प्यानको प्रमाण लिन र बिल विभागमा दिन निर्देशन दिइएको छ ।

यस्तै, अनुगमनका क्रममा २ सय १० वटा व्यापारिक फर्मले म्याद नाघेका सामानहरु विक्रीका लागि राखेको पाइएको छ । ती व्यापारिक फर्मलाई म्याद नाघेका सामानहरु विक्री नगर्न निर्देशन दिइएको छ ।

अनुगमनका क्रममा ३ वटा व्यवसाय बन्द गरिएको छ भने ९ वटालाई नमुना संकलनका लागि परिक्षणका लागि पठाइएको विभागले जानकारी दिएको छ ।


क्लिकमान्डु