एसईईको नतिजा प्रकाशनमा सरकारले नै लापरबाही गरेपछि…



काठमाडौं । पूर्वशिक्षा सचिव जनार्दन नेपालले कक्षा १० तथा एसइइको नतिजा प्रकाशनमा सरकारले लापारबाही गरेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेपालले एसइइ नतिजा प्रकाशनमा देखिएको कमजोरीलाई अर्को वर्ष नदोहो¥याउने गरि सत्य–तथ्यका बारेमा अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् ।

उनले भने, ‘भर्खरैमात्रै प्रकाशित गरिएको एसइइको नतिजालाई लिएर धेरै कुराहरु सुनिन थालेका छन्, यसका बारेमा सरकार गम्भिर बन्नुपर्छ, प्राविधिक तथा अन्य कुन–कुन पक्षले गल्ति गरेको छ, त्यो छानविन हुुनुपर्यो, अर्को वर्षमा यस्तो कमजोरी हुन नदिनको लागि चनाखो बन्नुपर्यो ।’

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा हिसानका अध्यक्ष रमेश सिलवालले सरकारले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाएका छन् ।

उनले भने, ‘प्रत्येक दिन नतिजा फरक छ, अघिल्लो दिन एक प्रकारको रिजल्ट अर्को दिनमा फरक रिजल्ट देखाएको छ, नतिजा प्रकाशितमा त यति विघ्न समस्या छ भने कापी जाँचमा कति लापरबाही भयो होला ? हामीले सहज अनुमान लगाउन सक्छौं, विद्यार्थीको भविष्यका बारेमा मन्त्रालय, शिक्षा विभाग, परीक्षा बोर्ड कोहीपनि गम्भिर बनेका छैनन्, ग्रेड सिस्टमका पनि त आफ्नै प्रकारका नियमहरु छन्, हाम्रो देशमा अंकमा तयार पारिने रिजल्टलाई अक्षरमा ढालेर ग्रेडिङ सिस्टम ल्यायौं भनिदैँछ, सबै मान्यता अपनाएर ग्रेड सिस्टम लागू गर्न सरकारलाई आग्रह गर्दछु ।’

त्यस्तै उनले यसपाली त निजी र सामुदायिक विद्यालयको रिजल्ट समेत एउटैमा प्रकाशित गरेकोमा गुनासो पोखे । उनले भने,‘कुन संस्थागत विद्यालयमा पढेको हो, कुन कहाँ पढेको हो भन्ने नै थाहा छैन् ।’

त्यस्तै कार्यक्रममा एन–प्याव्यसनका अध्यक्ष ऋतुराज सापकोटाले पनि राष्ट्रिय परिक्षा बोर्डले विद्यार्थीको जीवनमाथि खेलवाड गरेको आरोप लगाएका छन् ।

उनले भने, ‘कक्षा ९ र १० को परीक्षाको बीचमा कुनै भीन्नता छैन्, परिणाममात्रै फरक देखाएर हुन्छ ? पाठ्यक्रम पुरानै छ, शिक्षाको स्तर घट्दो छ, पढाईमा विद्यार्थीको चासो कम हुँदै गएको छ, परिक्षाको नाममा विद्यार्थी अल्मल्याउने काम भैरहेको छ ।’

पछिल्लो तीन वर्षसम्मपनि एसइइको नतिजामा कुनै भिन्नता नआएको उनको आरोप छ । उनले भने, ‘यस वर्षको नतिजामा १४ हजार विद्यार्थीको रिजल्ट आएको छैन्, फरक–फरक रिजल्ट आएको छ, शिक्षामन्त्री र राष्ट्रिय शिक्षा बोर्डले यसको जिम्मेबारी लिनुपर्छ, दोषिमाथि कडा कारबाही गर्नुपर्छ ।’

कार्यक्रममा प्यावशनका महासचिव राजेन्द्र बानियाँले एसइइको नतिजा प्रकाशित गर्ने काममा सरकारले हतार गरेको आरोप लगाए ।

उनले भने, ‘उत्ताउलो गाई बाघले खाई भनेजस्तै रिजल्ट प्रकाशित गर्ने काममा सरकार निक्कै हतारमा प्रस्तुत भएको छ, एकदुई दिन ढिला हुँदैमा आकास खस्ने त थिएन होला ? यसमा शिक्षामन्त्री, शिक्षा मन्त्रालय, परीक्षा बोर्डका कर्मचारीले लापरबाही गरेका छन्, यस्तो लापरबाहीको कारण कति विद्यार्थीको रिजल्ट आएको छैन्, कतिको रिजल्ट आज एउटा र भोली अर्के भएर आएको छ, संस्थागत विद्यालयलाई बन्द गर्ने, कमजोर बनाउने काममा सरकार लागेको देखिन्छ, तर सामुदायिक विद्यालयको शिक्षालाई माथि उठाउनको लागि पर्यत्नरत देखिँदैन् ।’

उनले अघि थपे,‘शिक्षा र स्वास्थ्यको जिम्मेबारी सरकारले लिनुपर्छ, हामी साथ दिन्छौ, आफूपनि नगर्ने अरुलाई पनि गर्न नदिने हो भने कसरी विकास र समृद्धि आउँछ ? अरु जेसुकै भएपनि एसइइको नतिजाले हामीलाई निरास बनाएको छ ।’


पुष्प दुलाल