भेरी अञ्चल अस्पताल नेपालगञ्जमा सेवा थपिए



 

नेपालगञ्ज । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालगञ्जको भेरी अञ्चल अस्पताललाई ५, ६ नं र कर्णाली प्रदेशको नागरिकको आवश्यकताका आधारका विस्तार गरिने बताएका छन् ।

सो अस्पतालले आजदेखि प्रारम्भ गरेको डेक्सा स्क्यान तथा बोन हेल्थ ओस्टेकोप्रोसिस क्लिनिकको उद्घाटन गर्दै उनले भेरी अञ्चल अस्पतालको सेवालाई थप प्रविधियुक्त र प्रभावकारी बनाउन मन्त्रालयले प्रक्रिया अघि बढाएको बताए ।

“नेपालगञ्जमा एउटा ठूलो सुविधासम्पन्न अस्पताल आवश्यक रहेको बुझेर नै केन्द्रीय सरकारले आवश्यक प्रक्रिया अघि बढाएको हो”, उनको भनाइ थियो ।

त्यस अवसरमा शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले यो अस्पतालको सेवा, सुविधालाई प्रभावकारी बनाउन समयसापेक्ष सुधार गर्दै जानुपर्नेमा जोड दिए ।

अस्पताल विकास समितिका अध्यक्ष डा उषा शाहको अध्यक्षतामा भएको कार्यक्रममा मेडिकल सुपरिटेन्डेण्ट डा प्रकाश थापाले अस्पतालको वस्तुस्थितिका बारेमा जानकारी गराए । रासस


क्लिकमान्डु