५ महानगरपालिकाले कस्तो बजेट ल्याए ? काठमाण्डौको सबैभन्दा बढी, भरतपुरको कम



काठमाण्डौं । सात प्रदेशमा विभाजित नेपाल राष्ट्रमा ६ वटा महानगर पालिका रहेका छन् । प्रदेश नम्बर १ मा विराटनगर, प्रदेश नम्बर २ मा वीरगञ्ज, प्रदेश नम्बर ३ मा काठमाण्डौ, ललितपुर र भरतपुर तथा प्रदेश नम्बर ४ मा पोखरा लेखनाथ महानगर पालिका रहेका छन् । प्रदेश नम्बर ५, ६ र ७ मा एउटा पनि महानगरपालिका छैन ।

यी ६ महानगरपालिका मध्य ५ वटा महानगरले आर्थिक वर्ष २०७५\०७६ को लागि नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरिसकेका छन् भने ललितपुर महानगरको बजेट आउन बाँकी छ ।

विराटनगर महानगरमा भौतिक पूर्वाधार प्राथकिमतामा

विराटनगर महानगरपालिकाले आइतबार अगामी आर्थिक वर्ष २०७५\०७६ का लागि नीति, कार्यक्रम तथा बजेट भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर सार्वजनिक गरेको छ । अगामी आर्थिक वर्षका लागि ४ अर्ब ४७ करोड ८ लाख ४९ हजारको बजेट प्रस्तुत गरिएको हो ।

अगामी आर्थिक वर्षका लागि आयतर्फ आन्तरिक आयबाट ५४ करोड ३ लाख, राजश्व बाँडफाँडबाट ३७ करोड ५ लाख ४ हजार, संघीय र प्रदेश सरकार वित्तीय समानीकरण अनुदान ५३ करोड ८७ लाख ९५ हजार, संघीय सरकार सशर्त अनुदान ३६ करोड १५ लाख, वैदेशिक र अन्य संघसंस्था अनुदान ४ करोड ४६ लाख ५० हजार, जनसहभागिताबाट ३ करोड ५० लाख, नगर विकास कोष ऋण सहयोग १ करोड ८० लाख, महानगरमा मौज्दात ७ करोड र मझौला शहर एकिकृत शहरी सुधार परियोजना र क्षेत्रीय शहरी विकास परियोजनातर्फ संघीय सरकार र महानगरको समपुरक कोषसमेत बाट १ अर्ब ९४ करोड २५ लाख गरी कूल ४ अर्ब ४७ करोड ८ लाख ४९ हजारको बजेट बिनियोजन गरिएको छ ।

७२ दशमलव ७१ प्रतिशत बजेट भौतिक पूर्वाधारका लागि छुट्याईएको छ भने सामाजिक विकास, महिला तथा बालबालिका, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपंक्षी कार्यक्रमका लागि १३ दशमलव ९६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

वीरगंज महानगरले ल्यायो ५ अर्बको बजेट

वीरगञ्ज महानगरपालिकाले आर्थिक बर्ष २०७५\७६ का लागि बजेट सार्वजनिक गरेको छ । वीरगंज महानगरले आर्थिक विकास नीति, समाजिक विकास नीति, पूर्वाधार विकास नीति, पर्यटन, उद्योग, स्वास्थ्य, खानेपानी सरसफाई भाषा, संस्कृति, पर्व रीतिरिवाज, वातावरण तथा विपत्त व्यवस्थापन, संस्थागत विकास, सेवा प्रहवाह र सुशासन, कृषि सहकारी तथा पशुपंक्षी, लैगिक समानता, समाजिक समावेशीकरण, खेलकुद, सडक निर्माण, सिचाई, वैकल्पिक उर्जालगायतका क्षेत्रका लागि ४ अर्ब ९७ करोड ८१ लाख ७७ हजारको बजेटको ल्याएको हो ।

महानगरले आफ्नै प्राथमिकतामा विनियोजन गर्न सक्ने रकमतर्फ नेपाल सरकारको समानीकरण अनुदानबाट ४३ करोड १७ लाख,प्रदेश सरकारको समानीकरण अनुदानबाट ७७ लाख ९९ हजार, राजस्व बाडफाँडबाट २२ करोड १८ लाख २० हजार, आन्तरिक आयमा कर, सेवा शुल्क र दस्तुरबाट ५९ करोड ५३ लाख ६० हजार गरी कुल ४ अर्ब ९४ करोड ३१ लाख ७७ हजार आय हुने अनुमान गरेको छ ।

काठमाडौं महानगरपालिकाको बजेट १३ अर्ब

महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५\०७६ को बजेट प्रस्तुत गरेको छ । विकास निर्माण, योजना, नीति तथा कार्यक्रमका लागि १३ अर्ब दुई करोड १२ लाख ३७ हजार बजेट विनियोजन गरेको छ ।

यो चालु आवको तुलनामा १.१ प्रतिशतले वृद्धि भएको छ । ‘समृद्ध, सुरक्षित र जीवन्त सहर, स्वच्छ र सुन्दर काठमाडौं महानगर’ बनाउने दीर्घकालीन लक्ष्य, उद्देश्यबमोजिम आर्थिक, सामाजिक विकासमा बजेटको न्यायोचित वितरण अनुसार बजेट विनियोजन गरिएको छ ।

बजेट तथा कार्यक्रम तयार पार्दा आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह, वित्तीय व्यस्थापन र सुशासन र कार्यालय सञ्चालन तथा प्रशासनिक गरी सात वटा विषयगत क्षेत्रहरूलाई छुट्याएको छ । पूर्वाधार विकास सम्पूर्ण विकासको प्रारम्भिक विन्दु मानेको छ । सुविधा सम्पन्न सडक व्यवस्थापन र विकास, ढल व्यवस्थापन, प्रदूषण नियन्त्रण, आधुनिक आकाशे पुल, अन्तर्रा्ष्ट्रिय स्तरको सभाहल निर्माण लगायतका पूर्वाधार विकासका लागि तीन अर्ब ६ करोड २४ लाख विनियोजन गरिएको छ ।

भरतपुर महानगरको बजेट ३ अर्ब

भरतपुर महानगरपालिकाको नगरसभाबाट ३ अर्ब ३४ करोड ५ लाख ८६ हजार रुपैयाँको बजेट स्वीकृत भएको छ ।

भरतपुर महानगरपालिकामा पूर्वाधार, शिक्षा, पर्यटन र कृषिमा बढी रकम विनियोजन गरिएको छ । महानगरका गौरवका आयोजनाका रूपमा लिइएका महानगरीय रिङरोड र लिंकरोडहरू, सहरका मुख्य तीन स्थानमा आकाशे पुल निर्माणको प्रक्रिया थाल्ने, बजारका मुख्य चोकमा ट्राफिक लाइट जडान गरी यातायात सेवालाई व्यवस्थित गर्ने नीति कार्यक्रममा उल्लेख छ । भरतपुर महानगरपालिकाभित्र रहेका २९ वटा वडालाई कुल ३१ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

पोखरा लेखनाथ महानगरको बजेट ६ अर्ब, १२ वटा गौरवका योजना

पोखरा लेखनाथ महानगरपालिकाले आर्थिक वर्ष २०७५\७६ का लागि ६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँको बजेट ल्याएको छ । बजेटमा ४ अर्ब ३३ करोड ७५ लाख २० हजार रुपैयाँ बाहृय आय र १ अर्ब ६९ करोढ ९० लाख ३० हजार आन्तरिक आय अनुमान गरिएको छ ।

बाहृय आयमा वित्तीय समानीकरण अनुदानबाट ६१ करोड ४४ लाख, सशर्त अनुदानबाट १ अर्ब २० करोड ४२ लाख, समपूरक अनुदानबाट ६ करोड रुपैयाँ, विशेष अनुदानबाट १५ करोड, राजस्व बाँडफाँटबाट ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

यता, पोखरा लेखना महानगरपालिकाले १२ वटा योजनालाई महानगरको गौरवको योजनाको रुपमा प्रस्तुत गरेको छ । जसमा फेवा तथा बेगनासलगायतको ताल संरक्षण, फेवाताल ढल डाइभर्सन, फेवा(बेगनास मोनो रेल सम्भाव्यता अध्ययन, विद्युतीय तारलाई जमिनमुनि व्यवस्थापन तथा रेलिङ निर्माण, किमी सडक कोर सिटीमा स्तरोन्नति रहेका छन् । त्यस्तै, पर्यटकीय बसपार्क निर्माण, तालचोक(खुदीको मुहानसम्म चार लेन सडक, सात स्थानमा आधुनिक कृषि पकेट क्षेत्र निर्माण, महानगरपालिका भवन निर्माण, ३० वटा कनेक्टिङ सिटी सडक, फिर्के करिडोर चक्रपथको गुरूयोजना र सिसी टिभी जडान कार्यक्रमलाई पनि महानगरको गौरवको योजनामा उल्लेख गरिएको छ ।

 

केही दिन भित्र आउँदै ललितपुर महानगरको बजेट

ललितपुर महानगरले कार्यपालिकाको बैठकमा ४ अर्बभन्दा बढीको बजेट सिलिङ पेश गरेको छ । नीति तथा कार्यक्रम छिटै पारित गरी बजेट ल्याइने सो महानगरपालिकाले जानकारी दिएको छ ।

(राससको सहयोगमा)


क्लिकमान्डु