काठमाडौं महानगरमा घरजग्गा, बाटो, धारा र बिजुली जडानको सिफारिस लिन कति पैसा तिर्नुपर्छ ?




काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्षको लागि १३ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ ।

बजेटमा जनताको आधारभूत आवश्यकताका बस्तुहरु घरजग्गाको सिफारिस, धारा तथा बिजुली जडानको सिफारिस, अंगिकृत नागरिकताको सिफारिस र बाटोको सिफारिस लिँदा पनि शुल्क तिर्नुपर्ने उल्लेख छ । यस्तो शुल्क पहिला पनि तिर्नुपथ्र्यो ।

महानगरका अनुसार घरजग्गा नामसारीको सिफारिस लिन १ हजार रुपैयाँ तिर्नुपर्छ । यस्तै मोही लगत कट्टाको ५ हजार, घर कायम सिफारिसको १५ सय, छात्राबृत्ति सिफारिसको १ सय र अस्थायी बसोबासको सिफारिसमा स्वदेशी नागरिकलाई २ हजार र विदेशीको लागि ५ हजार रुपैयाँ शुल्क लाग्ने भएको छ ।

स्थायी बसोबासको सिफारिसको ५ सय, अंगिकृत नागरिकता सिफारिसको १० हजार र बैबाहिक अंगिकृत नागरिकता सिफारिसको २५ सय रुपैयाँ शुल्क लाग्ने भएको छ ।

यस्तै विद्युत जडानको सिफारिस लिन नक्सापासको हकमा १ हजार र नक्सापास नभएको हकमा १० हजार, धारा जडान सिफारिस नक्सापासको हकमा १ हजार र नक्सा पास नभएको हकमा ५ हजार रुपैयाँ शुल्क लाग्ने भएको छ ।

जिवितै रहेको सिफारिस लिन ५ सय, जन्म मिति संसोधनको सिफारिसको लागि ५ सय, जग्गा मुल्यांकन सिफारिस तथा प्रमाणितको प्रति हजारमा १ रुपैयाँ, ब्यवसाय बन्द सिफारिसको लागि १ हजार, ब्यवसाय संचालनमा नभएको सिफारिसमा १ हजार, ब्यापार ब्यवसाय नभएको सिफारिसमा २ हजार र नावालक सम्बन्धि सिफारिसमा २ सय रुपैयाँ शुल्क लाग्नेछ ।


क्लिकमान्डु