अब नेपालगञ्जमापनि क्यासर अस्पताल, प्रदेश ५, ७ र कर्णालीका नागरिकलाई स्वास्थ्य सेवा पाउन सहज



नेपालगञ्ज । बाँके जिल्लाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले भोलि सोमबारदेखि ओपिडी सेवा शुरु गर्ने भएको छ ।

ओपिडी सेवा सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिले चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन र सबैखाले उपकरण जडान गरिसकेको छ ।

अस्पताल परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले ११ गते सोमबार स्वास्थ्यमन्त्री उपेन्द्र यादवले ओपिडी सेवाको शुभारम्भ गर्ने कार्यक्रम तय भइसकेको बताए ।

सरकारबाट १०० शैया मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ शैयाबाट आफ्नो सेवा प्रारम्भ गर्ने जनाएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कक्षपतिका अनुसार, अस्पताल निर्माणमा अहिलेसम्म ३५ करोड खर्च भइसकेको छ भने चालू आर्थिक वर्षका लागि सरकारले अस्पताल सञ्चालनका लागि १८ करोड बजेट विनियोजन गरेको छ ।

यो अस्पतालको सेवा प्रारम्भ भएपछि ५, ७ नं र कर्णाली प्रदेशका नागरिकलाई स्वास्थ्य सेवा पाउन सहज तथा सस्तो हुने बताइएको छ । रासस


क्लिकमान्डु