समातिए सम्पत्ति शुद्धिकरण विभागका पूर्व अनुसन्धान अधिकृत



काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका पूर्व अनुसन्धान अधिकृत शम्भुप्रसाद चालिसेलाई पक्राउ गरेको छ । उनी भ्रष्टाचार मुद्दामा फरार अभियुक्त हुन् ।

५२ वर्षिय चालिसे धादिङको नौविसे–२ घर भइ हाल काठमाडौं–१४, कलंकी बस्दै आएका थिए ।

०७१ साउन ११ गते सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धान अधिकृत रहेका वेला उनले शुद्धिकरण सम्बन्धी मुद्दा मिलाएर सफाइ दिन्छु भन्दै १० लाख रुपैयाँ घुस मागेको उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरको सैबुस्थित सिघीपार्क गणेश मन्दिरबाट उनलाई रकमसहित पक्राउ गरेको थियो ।

त्यस मुद्दामा सर्वोच्च अदालतले २०७४ चैत २० गते उनलाई १ वर्ष ६ महिना कैद र १० लाख रुपैयाँ जरिवाना हुने सजाय सुनाएको थियो । अदालतले दोषी ठहर गर्दै फैसला सुनाएपछि उनी फरार भएका थिए ।

उनलाई खोजी गर्ने क्रममा बिहीबार कलंकीबाट सीआईबीले पक्राउ गरी कैद भुक्तानका लागि कारागार कार्यालय, डिल्लीबजार चलान गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।


क्लिकमान्डु