बिआरआई परियोजना अन्तर्गत चीनसँग रेल सहितका पूर्वाधार निर्माणमा सहमति गर्ने छौ : प्रधानमन्त्री



तस्बिरः सिह्वा/रासस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गत रेल लगायतका पूर्वाधार योजना बनाउनको लागि सहमति गर्ने बताएका छन् ।

५ दिने चिनको औपचारिक भ्रमणमा निस्कनु अगाडि चिनियाँ समाचार ऐजेन्सी सिह्वालाई दिएको अन्र्तवार्ताको क्रममा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच क्रस बोर्डर रेल्वे निर्माण पूर्वाधार विकास,व्यापार लगानी र पर्यटन क्षेत्रमा बिआरआई मार्फत लगानी भित्राउने खोजेको बताए ।

चीनका राष्ट्रपति सि चिन फिङले अगाडि सारेको बिआरआई फेमवर्कमा नेपालले हस्ताक्षर गरिसकेको छ । नेपालले दुईवर्ष अगाडि बिआरआईमा हस्तक्षार गरेको थियो । बिआरआईमा हस्ताक्षर भएपनि त्यो फेमवर्क अन्तर्गत चीनबाट लगानी भने आएको छैन ।

नेपालले बिआरआईलाई महत्वपूर्ण विकास पहलको रुपमा हेर्ने भनाई प्रधानमन्त्री ओलीको छ । प्रधानमन्त्री ओलीले बिआरआई अन्तर्गतको लगानीको परियोजनामा मोडालिटीमा छलफल गर्ने बताए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा निर्वाचनको क्रममा चिनियाँ रेल ल्याउने भाषण धेरै ठाउँमा गरेका थिए । चिनियाँ रेल नेपाल आउने आशा धेरैलाई लागेको छ । यो पटकको भ्रमणमा चीनसँग महत्वपूर्ण क्षेत्रमा सम्झौता हुने अपेक्षा गरिएको छ ।


क्लिकमान्डु