एफपिओलाई दोस्रो बजारको झड्का




काठमाडौं । बुटवल पावर कम्पनीले ४० लाख ८९ हजार कित्ता सेयर थप सार्वजनिक निष्कासन (एफपिओ) निष्कासन गर्यो ।

अंकित मूल्य एक सय रुपैयाँमा ४०१ रुपैयाँ थपेर बुटवल पावरले ५०१ रुपैयाँमा एफपिओ निष्कासन गरेको थियो ।

बुटवल पावरको एफपिओ बिक्री नभएपछि अन्डरराइट गर्ने कम्पनीले खरिद गर्नु परेको थियो । अहिले बुटवल पावरको सेयर मुल्य ४५० मा कारोबार भएको छ ।

बुधवारदेखि एनएमबि बैंकले १ करोड १४ लाख कित्ता एफपिओ निकालेको छ । अंकित मुल्य १ सय रुपैयाँमा २३३ रुपैयाँ थपेर ३३३ रुपैयाँमा एनएमबिले एफपिओ निकालेको हो । असार ३ गतेसम्म बिक्री खुल्ला रहने एनएमबिको एफपिओमा दोस्रो दिनसम्म पनि आकर्षण देखिएको छैन ।

एनएमबिको बैंकको सेयर मुल्य ३७२ रुपैयाँमा कारोबार भएको छ ।

सेयर बजारका जानकार दिलिप मुनकर्मी बुटवल पावरको कारण लगानीकर्ता एफपिओमा त्रसिनुपर्ने अवस्था आएको बताउँछन् ।

‘आधारभुत रुपमा हेर्दा एनएमबि बैंकको एफपिओ खरिद गर्दा घाटा छैन, ठूला लगानीकर्ताले साना लगानीकर्ताले खरिद नगरुन भन्नका लागि हल्ला पनि चलाएका छन्’, उनले भने ।

सेयर बजार बियरिस ट्रेण्डमा छ । सेयर बजारमा थपिएको बढ्दो आपूर्ति तथा ब्याजदरको दवावले सहजै सेयर बजार बढ्ने अवस्था नभएको बुझाई धेरै लगानीकर्ताको छ ।

एफपिओ निकाल्न लागेका नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले आफ्नो बैंकको सेयर मुल्य ‘अद्भूत शक्ति’को कारण घटेको आरोप लगाए ।

नेपाल बैंकले अंकित मुल्य १ सय रुपैयाँमा १८० रुपैयाँ थप गरेर २८० रुपैयाँमा एफपिओ जारी गर्न लागेको छ । यद्यपि नेपाल बैंकले भने २१ वर्षसम्म लगानीकर्तालाई कुनैपनि लाभांश दिएको छैन ।

बैंकले १ करोड ७६ लाख कित्ता सेयर प्रतिकित्ता २८० रुपैयाँमा जारी गर्न खोजेको छ । यद्यपि रकमको विषयमा भने धितोपत्र बोर्डबाट अनुमति आएको छैन । अर्को बैंक सिटिजन्स बैंक पनि ४ लाख ६३ हजार कित्ता एफपिओ निष्कासन गर्ने तयारीमा छ ।

बुलिस ट्रेण्डमा हुँदा एफपिओ जारी गरेका नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चाटर्ड, नेपाल लाइफ इन्स्युरेन्स तथा शिखर इन्स्योरेन्सको जस्तो बियरिस ट्रेण्डमा जारी हुने एफपिओमा आकर्षण स्वभाविक रुपमा कम भने हुन्छ ।

सेयर बजारका जानकार मुनकर्मी बियरिस ट्रेण्डमा बजार रहेको हुँदा एफपिओको मुल्यभन्दा तल दोस्रो बजारमा कम्पनीको सेयर मुल्य झर्न सक्ने सम्भावना हुँदा लगानीकर्ता एफपिओमा आकर्षित नभएको बताउँछन् ।

‘बुलिस ट्रेण्डमा हुँदा र बियरिस ट्रेण्डमा बजार हुँदा आउने एफपिओमा पर्ने आवेदन फरक हुनु स्वभाविक हो, बुलिसमा बढी हुन्छ बियरिसमा कम हुन्छ’, उनले भने ।


क्लिकमान्डु