विकासको एजेण्ड लिएर प्रचण्ड भारत र चीन भ्रमणमा जाने




भरतपुर, चितवन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको दशक मुलुकको विकास र समृद्धीको दशक हुने बताएका छन् । अहिले राजनीतिक संघर्षमा कसैको ध्यान छैन भन्दै उनले प्रतिपक्षले पनि विकास समृद्धीमा सहकार्य गरेर जाने प्रतिबद्धता जनाएको बताउँदै सिंगो राष्ट्र अहिले एकै ठाउँमा रहेको बताए ।

भरतपुर महानगरको एकीकृत विकास गुरुयोजना निर्माणका लागि अवसर, चुनौति र भावि कार्यदिशा विषयक कार्यशाला गोष्ठीलाई संबोधान गर्दै उनले यस्तो कुरा बताएका हुन् ।

चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य समेत रहेका प्रचण्डले भरतपुर महानगरसँगै समग्र चितवनको विकासको एजेण्डामा कुरा गर्न आफू भारतीय प्रधानमन्त्रीसँग कुरा गर्न चाँडै भारत भ्रमणमा जाने सुनाए । चीनका प्रधानमन्त्रीले समेत आफूलाई विकासको एजेण्डामा कुरा गर्न चीन भ्रमणका लागि निमन्त्रणा गरेको पनि प्रचण्डले बताए ।

भारत र चीनले भरतपुरमा १–१ वटा ऐतिहासिक आयोजना निर्माण गर्ने आफूले अपेक्षा गरेको उनले बताए । लामो समयपछि नेपालमा पाँच वर्षका लागि स्थिर सरकार बनेको प्रशंग उल्लेख गर्दै उनले राजनीतिक स्थिरतालाई विकासमा रुपान्तरण गर्न चाहेको उल्लेख गरे ।

सोही अवसरमा उनले भरतपुर महानगरलाई अन्तर्राष्ट्रियस्तरको महानगर बनाउन सकिने पर्याप्त संभावना रहेको प्रष्ट पारे । भरतपुरमा कृषिमा आधारित उद्योगको स्थापना, पर्यटन व्यवसायको विस्तार गरी रोजगारीको सिर्जना, शिक्षा र स्वास्थ्यका क्षेत्रको केन्द्र बनाउने र धार्मिक पर्यटनलाई विकास र विस्तार गरी समृद्ध भरतपुर बनाउन सकिने उनले बताए ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद कृष्णभक्त पोखरेल, राष्ट्रियसभाका सांसद पार्वती रावल, प्रदेश सांसद विजय सुवेदी, राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशी, नेपाल कम्युनिष्ट पार्टीका नेता इश्वरी भट्टराईले पनि भरतपुर महानगरको समृद्धीका लागि योजनाबद्ध तरिकाले अघि बढ्न सुझाब दिएका थिए ।

भरतपुर महानगरको विकासमा बिज्ञ समूहको सुझाब
कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखेलले भरतपुर महानगरको क्षेत्रीय अवस्थिति र विकासको संभावना, आयोगका पूर्व सदस्य सुनिलबाबु श्रेष्ठले स्मार्ट भरतपुर, योजना र संभावना तथा सहरी पूर्वाधारविद् डा. सूर्यराज आचार्यले समृद्ध भरतपुरका लागि व्यवस्थित सहरिकरणका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा चितवन जिल्लाका विज्ञ व्यक्तित्वहरु रमाकान्त सापकोटा, डा. तिलचन्द्र भट्टराई, मित्रराज दवाडी, गुणचन्द्र बिष्ट, डा. भोजराज अधिकारी, सहन प्रधान र राजन गौतम लगायतकाले भरतपुर महानगरको विकासका लागि गर्नु पर्ने कामका बारेमा सुझाब दिएका थिए ।

भरतपुर महानगर प्रमुख रेणु दाहालको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर पार्वती शाह ठकुरी र भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुबेदी लगायतकाले बोलेका थिए ।


क्लिकमान्डु