बैंकको ब्याजदरमा राष्ट्र बैंकले हस्तक्षेप गरोस्ः शेखर गोल्छा




काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकको ब्याजदरमा राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको लागि ल्याउन लागेको मौद्रिक नीतिको सुझाब माग्न आयोजना गरेको छलफलमा उनले यस्तो बताएका हुन् ।

‘बैंकको ब्याजदर अस्थिर भएकोले लगानीकर्ताले कुनै प्रक्षेपण गर्न सक्ने अबस्था नै रहेन, यस्तो अस्थिर ब्याजदरले औद्योगिक विकासमा सहयोग गर्दैन, यसैले राष्ट्र बैंकले बैंकको ब्याजदरमा हस्तक्षेप गर्नुपर्छ,’ गोल्छाले भने ।

बैंकको ब्याजदरमा राष्ट्र बैंकले हस्तक्षेप नगर्ने हो भने आर्थिक समृद्धिको सरकारी नारा असफल हुने पनि उनले बताए । आर्थिक समृद्धिको लागि लगानी आवश्यक हुने र ब्याजदरमा देखिने उत्तारचढाबले लगानीलाई असर पार्ने भन्दै उनले यस्तो बताएका हुन् ।

उनले बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने र कर्जामा लिने ब्याज अन्तर (स्प्रेड) दर पनि बढी भएको बताए । अहिले बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशतसम्म स्प्रेड दर राख्न पाउँछन् ।

यस्तै उनले पूर्वाधारमा विदेशी लगानीलाई पनि खुल्ला गर्न माग गरे । पूर्वाधारमा विदेशी लगानीले स्वीकृति नपाउँदा लगानीको अभाबमा पूर्वाधार निर्माण हुन नसकेको भन्दै उनले यस्तो धारणा राखेका हुन् । बरिष्ठ उपाध्यक्ष गोल्छाले बजेटमा निजी क्षेत्रले उठाएका केही बिषय छुटेको भन्दै मौद्रिक नीति मार्फत सम्बोधन गर्न पनि माग गरे ।


क्लिकमान्डु