यार्सागुम्बा खोज्न जाँदा ३३ लाख गुम्यो



डोल्पा । हिमाली जिल्ला डोल्पामा प्रत्येक वर्ष जेठ पहिलो सातादेखि असार पहिलो सातासम्म विद्यालय बन्द हुने गर्छन् । यो अवधि यार्सागुम्बा संकलन गर्ने अवधि हो । यार्सागुम्बा संकलनको समयमा गाउँ नै रित्तो पारेर सम्पूर्ण स्थानीय यार्सागुम्बाको खोजीमा यार्सापाटन पुग्ने हुँदा विद्यार्थी पनि नियमित कक्षा छाडेर वर्षभरिको पढाइ खर्च जुटाउन आफ्ना अभिभावकसँगै यार्सागुम्बा संकलनमा जाने गरेकाछन् ।

यार्सागुम्बा संकलनको समयमा डोल्पाका विद्यालय एक महिना बन्द भएपछि सरकारले विद्यालयमा दिवा खाजाबापत दिने ३३ लखा रुपैयाँ लाखबराबरको रकम फिर्ता हुने भएको हो ।

यार्सागुम्बा संकलनका समयमा बन्द हुने जिल्लाका कुनै पनि विद्यालयलाई शिक्षा कार्यालयबाट दिइने दिवा खाजाबापतको अनुदान रोकिने भएको छ ।
सरकारले उपलब्ध गराउँदै आएको दिवा खाजा कार्यक्रमअन्तर्गत प्रत्येक महिना प्रतिविद्यार्थीका लागि करीब २० दिनको दिवा खाजास्वरुप अनुदान दिने व्यवस्था रहेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सिंहराज डाँगीले जानकारी दिए ।

विद्यालयलाई एक महिनाका लागि दिइने २० दिनको दिवा खाजाको अनुदान रकम करीब ३३ लाख रुपैयाँ सरकारलाई फिर्ता हुने डाँगीले जानकारी दिए । कक्षा ५ सम्मका विद्यार्थीलाई प्रतिविद्यार्थी २० रुपैयाँका दरले महिनामा ४ सय रुपैयाँसम्म दिवा खाजाबापत विद्यालयमा जाने गर्छ ।

८५ प्रतिशत विद्यालय बन्द

यार्सागुम्बा संकलन याम शुरु भएसँगै जेठ १ गतेदेखि बन्द भएका जिल्लाका करीब ८५ प्रतिशत विद्यालय अझै खुलेका छैनन् । जिल्लाभरका ११२ वटा विद्यालयमध्ये हालसम्म जम्मा १८ वटा विद्यालयमात्र खुलेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

पाँच महिना पनि निरन्तर पढाइ हुँदैन

हिमाली जिल्लामा पुस र माघ महिनामा हिउँदे बिदा हुन्छ, फागुनमा भर्ना अभियानले पढाई रोकिन्छ । जेठमा यार्सागुम्बाले एक महिना धेरै विद्यालय बन्द हुन्छ् । अन्य महिनामा विभिन्न चार्डपर्व तथा सार्वजनिक कार्यक्रमका कारण पनि विद्यालय बन्द हुने गरेको स्थानीयवासी बताउँछन् ।

शिक्षक पनि यार्सा व्यापारमा

यार्सागुम्बा टिप्नका लागि बालबालिका नै पाटनमा पुगेपछि शिक्षक कोही घाम तापेर बसेका छन् भने कोही यार्साका व्यापारी पनि बनेका छन् ।

फुर्सदको समय उपयोग गर्दै केही शिक्षक व्यापार गर्दै छन् तर विद्यालय खोल्न भने कोही पनि अग्रसर देखिँदैनन् । शिक्षा विकास तथा समन्वय एकाइले जेठको अन्तिम साता विद्यालय खोल्ने भने पनि धेरै विद्यालय असारको दोस्रो सातामात्रै खुल्ने गरेको स्थानीयवासी बताउँछन् ।


पुष्प दुलाल