विश्वकप फुटवलः कुन नेपाली व्यवसायी कसका समर्थक, कुन खेलाडीका फ्यान ?



काठमाडौं । फुटवलको विश्वकप शुरु हुन अब केही दिन मात्रै बाँकी छ । यो विश्वकम रुसमा हुँदैछ । तर, नेपालमा पनि विश्वकपको रौनकले माहोल तताएको छ ।

रातोदिन व्यवसायमा व्यस्त हुने नेपाली उद्योगी/व्यवसायीहरुलाई पनि फुटवलको रौनक छाएको छ ।

कुन व्यवसायी कुन देश/टिमका समर्थक हुन् र कुन खेलाडीका फ्यान हुन् ? भनेर जानकारी दिने उद्देश्यले हामीले यो रिपोर्ट तयार पारेका हौं ।

विनोद चौधरी- सर्भिया । किनभने सर्भियाका सबै खेलाडी चमत्कारिक प्रदर्शन गर्न सक्षम छन् ।

राजेन्द्र खेतान- पोर्चुगल । किनभने पोर्चुगलको टिममा रोनाल्डो छन्, म रोनाल्डोको फ्यान हुँ ।

शशिकान्त अग्रवाल- अर्जेन्टिना । किनभने मेस्सी मेरो मनपर्ने खेलाडी हुन् । त्यसबाहेक जुन देशले नेपाललाई बढी सहयोग गरेको छ त्यो देशलाई मेरो समर्थन हुन्छ ।

शेखर गोल्छा- रसिया । किनभने त्यहाँ राम्रा खेलाडी छन् । अर्कोकुरा होम ग्राउण्ड भयो । खासमा मलाई रसियाको गोल किपर एकदमै एक्सिलेन्ट लाग्छ ।

शाहिल अग्रवाल- ब्राजिल । किनभने ब्राजिलमा नेयमारजस्ता भेट्रान खेलाडी छन् । फुटवलका लागि ब्राजिल पेलेकै पालादेखि शक्तिशाली छ ।

पशुपति मुरारका- ब्राजिल । मैले जुनबेला देखि विश्वकप फुटवल हेर्न शुरु गरेँ, त्यसबेलादेखि लगातार ब्राजिलको समर्थक हुँ । मलाई ब्राजिलको खेल चमत्कारिक लाग्छ । खेलाडीको कुरा गर्दा म नेयमारको फ्यान हुँ । जुनदिन ब्राजिलले हार्छ, त्यसदिन मेरा लागि विश्वकप समाप्त हुन्छ ।

देवी प्रकाश भट्टचन- ब्राजिल । किनभने ब्राजिलको खेल कलात्मक छ । छोटो पास दिएर नाचेजस्तो तरिकाले ब्राजिलका खेलाडीहरु खेल्छन् । म ब्राजिलको खेल सकेसम्म हेर्न छुटाउँदिन ।

राजेशकाजी श्रेष्ठ- ब्राजिल । ब्राजिल फुटवलका लागि निकै शक्तिशाली छ । ब्राजिलसँग पेलेको इतिहास पनि छ । मलाई पेले निकै मन पर्थ्यो । त्यहिबेला देखि म ब्राजिलको समर्थक हुँ । अहिले नेयमार मलाई निकै मन पर्छ । नेयमारको फ्यान नै हुँ ।

आकाश गोल्छाः ब्राजिल । म फुटवलको हार्डकोर फलोअर त होइन । तैपनि मलाई ब्राजिलको खेल मनपर्छ । खेलाडीको कुरा गर्ने हो भने त मेस्सीलाई समर्थन गर्छु । तर, देश र टिममा भने विगतदेखि ब्राजिललाई नै समर्थन गर्दै आएको छु ।

शम्भु दाहाल- ब्राजिल । किनभने म र ब्राजिल एउटै हो । ब्राजिलका खेलाडी तल्लो तहदेखि आएका हुन्, म पनि तल्लो तहदेखि आएको हुँ । मलाई नेयमार एकदमै मन पर्छ ।

शैलेन्द्र गुरागाईं- अर्जेन्टिना । अर्जेन्टिना पहिलेदेखि नै बलियो टिम हो । म पहिलेदेखि नै अर्जेन्टिनाको समर्थक हुँ ।

प्रवलजङ्ग पाण्डे– मेरो समर्थन इटालीलाई थियो । यो पटक इटाली विश्वकप खेल्न छनोट भएन । मैले इटालीको विकल्प खोजेको छैन । जसकारण यो विश्वकमा मेरो कसैलाई पनि समर्थन छैन ।


पुष्प दुलाल