बर्डफ्लु नियन्त्रण पछि कुखुराजन्य पदार्थको मूल्यमा सुधार



चितवन । कुखुरामा देखिएको बर्डफ्लु नियन्त्रणमा आएसँगै कुखुराजन्य पदार्थको मूल्यमा पनि सुधार आएको छ ।

चितवनका तीवटा कुखुरा फार्ममा बर्डफ्लु देखिएपछि कुखुराजन्य पदार्थको मूल्यमा गिरावट आएको थियो । कुखुराजन्य क्षेत्रमा देशभरमा गरिएको लगानीको झण्डै आधा लगानी चितवनमा छ ।

बर्डफ्लु संक्रमणपछि प्रभावित बनेको बजार क्रमशः सुधारतर्फ लागेको व्यवसायीले बताएका छन् । ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलले चितवनमा बर्डफ्लुको संक्रमण हुनुअघि ७० रुपैयाँमा बिक्री भईरहेको ब्रोइलर कुखुराको चल्ला संक्रम देखिएपछि २० रुपैयाँ प्रतिचल्लामा पुगेको थियो । बर्डफ्लु नियन्त्रणमा आएपछि बजारमा माग बढ्न थालेको र चल्लाको मूल्य २० रुपैयाँबाट ३० रुपैयाँ पुगेको उनले जानकारी दिए । चल्लाको लागत मूल्य  ५० देखि ५५ पर्छ ।

जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख चेतनारायण खरेलले हाल चितवनमा बर्डफ्लु नियन्त्रण आईसकेको बताए ।

देशभरमा २०९ वटा ह्याचरी उद्योग भएकामा चिनवनमा मात्र १०० वटा छन् । ब्रोइलर कुखुराको चल्ला सातामा २५ लाख वटासम्म उत्पादन हुने गर्छ । लेयर्स चल्लाको उत्पादन भने सातामा एक लाख हाराहारीमात्र भएकाले बर्डफ्लुअघि र पछि प्रतिचल्ला  १६० देखि १७० प्रतिवटामा बिक्री हुँदै आएको अध्यक्ष पोख्रेलले बताए ।

ह्याचरी उद्योग संघका पूर्व जिल्ला अध्यक्ष ऋषि पौडेका अनुसार बर्डफ्लुअघि जिउँदो कुखुरा प्रतिकिलो १८० रुपैयाँमा बिक्री हुने गरेको थियो भने संक्रमणपछि घटेको र हाल क्रमशः बढ्दै १५० रुपैयाँ प्रतिकिलो पुगेको छ ।

नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार बर्डफ्लुअघि ३३५ रुपैयाँ प्रति क्रेट मूल्य रहेको थियो । अहिले २८० रुपैयाँ प्रतिक्रेट पुगेको छ ।

देशभरमा दैनिक ३० लाखवटा अण्डा उत्पादन हुनेमा चितवनमा मात्रै १३ लाखवटा अण्डा उत्पादन हुने गर्छ । पोल्ट्री क्षेत्रमा नेपाल आत्मनिर्भर बनिसकेको छ । यो उद्योगमा अहिले ७० अर्ब रुपैयाँ भन्दा धेरैको लगानी रहेको छ । रासस


क्लिकमान्डु