राष्ट्र बैंकको निष्कर्ष: देश उच्च आर्थिक बृद्धिदरको बाटोमा



काठमाडौं । नेपाल राष्ट्र बैंकले देश उच्च आर्थिक बृद्धिदरको बाटोमा हिडेको निष्कर्ष निकालेको छ ।

राष्ट्र बैंकले १० महिनाको आर्थिक स्थितीको तथ्यांक सार्वजनिक गर्दै तथ्यांकले देश उच्च आर्थिक बृद्धिदरको बाटोमा हिडेको जनाएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७४/७५ को कुल गार्हस्थ्य उत्पादनको अनुमानलाई हेर्दा देशको समग्र आर्थिक गतिविधि सही दिशामा नै रहेको प्रतिविम्वित हुने राष्ट्र बैंकले आफ्नो धारणा उल्लेख गरेको छ ।

आर्थिक वर्षको शुरु मै आएको अविरल वर्षा तथा डुवानले कृषि क्षेत्रको वृद्धिदरमा केही संकुचन आएतापनि कुल गार्हस्थ्य उत्पादनमा करिब ६ प्रतिशतको फराकिलो वृद्धि रहने अनुमान गरिएको छ ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७४/७५ को पहिलो छ महिनाको देशको आर्थिक गतिविधि सम्बन्धी अध्ययन प्रतिवेदनको आधारमा पनि औद्योगिक क्षेत्रको क्षमता उपयोग गत वर्षको सोही अवधिको ५४.२ प्रतिशतको तुलनामा बढेर ५८ प्रतिशत पुगेको देखिन्छ ।

त्यसैगरी, निर्माण, खानी तथा उत्खनन्का साथै पर्यटन क्षेत्रमा भएको वृद्धिले समेत उल्लिखित आर्थिक वृद्धिमा योगदान दिएको देखिन्छ । नेपाल सरकारले हालै सार्वजनिक गरेको वार्षिक बजेटमा आर्थिक वर्ष २०७५/७६ मा ८ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने लक्ष्य रहेको छ । यी तथ्यहरुबाट मुलुकले उच्च आर्थिक वृद्धिको बाटो समातेको संकेत मिल्ने राष्ट्र बैंकको भनाई छ ।

वित्तीय क्षेत्रतर्फ, वार्षिक विन्दुगत आधारमा दश महिनासम्ममा कर्जा प्रवाहको वृद्धिदर (१९.६ प्रतिशत) ले निरन्तर रुपमा निक्षेप परिचालनको वृद्धिदर (१६ प्रतिशत) लाई उछिने राष्ट्र बैंकले उल्लेख गरेको छ । कर्जा र निक्षेपबीचको असन्तुलनले कर्जाको ब्याजमा चाप पारिरहेको छ । तथापि, २०७५ वैशाखमा निक्षेपको भारित औसत ब्याजदर ६.६ प्रतिशत रहेबाट यसले कर्जाको ब्याजलाई अंकुशित गर्नुपर्ने देखिन्छ ।


क्लिकमान्डु