कालिमाटी तरकारी बजारलाई बिचौंलियामुक्त बनाइदै




काठमाडौं । सरकारले कालिमाटी तरकारी बजारबाट बिचौलियालाई लखेट्ने भएको छ । कालिमाटी तरकारी तथा फलफूल विकास समितिसँग सस्तो मूल्यमा सटर लिने र त्यस्तो सटरमा आफूले ब्यापार नगरी अरुलाई महंगो बेच्ने प्रबृत्ति बढेपछि सरकारले यस्तो गर्न लागेको हो ।

कृषि, भूमि तथा सहकारी मन्त्रालयका उपसचिव सरोज खनालले अब चाढै नै कालिमाटी बजारबाट बिचौँलियालाई हटाइने बताएका हुन् ।

मन्त्रीले सुरुको अनुमगन गर्ने काम गरिसकेकोले अब एक एक गरेर छानविन गर्दै आफूले लिएका स्टल अरुलाई बढी मूल्यमा बेच्नेलाई कारबाही गर्न लागिएको जानकारी दिए ।

‘हामीले पहिलो चरणमा अनुगमनको काम सकिसकेका छौँ, अब बिचौँलियाका रुपमा लिइएको स्टलहरु खाली गराउँदैछौ,’ उनले भने ।

त्यस्ता स्टलहरुबाट बिचौलियाहरुलाई हटाएर सरकारले फेरि गोलाप्रथाबाट स्टल दिने ब्यवस्था गर्न लागेको छ । उनले कालिमाटी बजारबाट बिचौँलियालाई हटाउने प्रकृया चाँडै सुरु हुने बताए ।

यस अघि कालिमाटी बजार भित्रका स्टल एक जना व्यक्तिले लिएर ३÷४ जनासम्मलाई थोरै थोरै ठाउँलाई बढी मूल्यमा बेच्ने गरेको पाइदै आएको छ ।

अहिलेसम्म एउटा व्यक्तिले १५ वर्षसम्म एउटा स्टल लिएर बस्न पाउने नीति रहेको थियो । यसलाई पनि कृषि, भूमि तथा सहकारी मन्त्रालयले परिवर्तन गर्न लागेको उनले जानकारी दिएका छन् ।

‘यस्तो ब्यवस्थाले गर्दा बजारमा बसिरहेकालाई हामीले हटाउन सकेका थिएनौं, यो ब्यवस्था परिवर्तन गरेपछि बिचौलिया हटाउन झन सहज हुन्छ,’ खनालले भने ।

कालिमाटी बजारमा एउटै स्टल १० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म बिचौँलियाको माध्यबाट विक्री हुने गरेको जानकारी पाइएको उनले बताए ।


क्लिकमान्डु