मध्य पहाडी लोकमार्ग र हुलाकी राजमार्गमा चिलिङ र प्रसोधन केन्द्र खोलिने




काठमाडौं । राष्ट्रिय दूग्ध विकास बोर्डले मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गमा चिलिङ सेन्टर र प्रसोधन केन्द्र खोल्ने भएको छ ।

बोर्डले औपचारिक क्षेत्रमा उत्पादन हुने दूधलाई संकलन गरी दूध कम उत्पादन हुने स्थानमा पठाउनका लागि यस्तो व्यवस्था गर्न लागेको जानकारी दिएको छ ।

बोर्डले केन्द्रिय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसन, दूग्ध विकास संस्थान, पशु सेवा विभाग र सरकारसँग सहकार्य गरी अध्ययन गरिरहेको छ । मध्यपहाडी लोकमार्ग र हुलाकी राजमार्गमा कुन कुन ठाउँमा दूधका पकेट एरिया छन्, कहाँ कति मात्रामा दूधहरु संकलन गर्न सकिन्छ र राष्ट्रिय दूग्ध प्रणालीमा आउन नसकेका ठाउँको बारे अध्ययन गरिदै गरेको बोर्डका प्रवक्ता बाबुकाजी पन्तले जानकारी दिए ।

सो अध्यनको आधारमा संकलन हुने दूधका लागि उपयूक्त स्थानमा चिलिङ सेन्टर (दूध चिसाउने सेन्टर), तराई र मध्य पाहनडीमा पायक पर्ने ठाउमा प्रसोधन केन्द्र खोल्नका लागि कृषि, भूमी व्यवस्थापन तथा सहकारी मन्त्रालयमा माग गरिएको उनले बताए ।

गत वर्ष १९ लाख ११ हजार मेट्रिक टन दूध उत्पादन भएको थियो । विश्व स्वास्थ्य संघका अनुसार एक जना व्यक्तिले एक दिनमा २ सय ५० एमएल दूध उपभोग गर्नुपर्छ । नेपालको सन्दर्भमा हेर्दा एक जना व्यक्तिले प्रतिवर्ष कम्तिमा ९२ लिटर दूध उपभोग गर्नुपर्ने देखिन्छ ।

नेपालमा उत्पादन हुने दूधका आधारमा एक व्यक्तिले करिब ७२ लिटर वार्षिक दूध उपभोग गर्छन् । अहिले नेपालमा प्रतिव्यक्ति वार्षिक २० लिटर दुध अपुग भइरहेको बोर्डको भनाइ छ ।

पछिल्लो समय नेपालको कुल उत्पादन मध्ये १७ प्रतिशत दूध मात्र औपचारिक क्षेत्रबाट खरिद विक्री हुने गरेको बोर्डले जानकारी दिएको छ । यसको करिब ३३ प्रतिशत सहकारीद्धारा निजीस्तरमा मिठाई पसल, चिया पसल, लज तथा रेष्टुरेन्टमा खपत हुने गरेका छन् ।

बाँकी ५० प्रतिशत दूध किसानहरु आफैले उपभोग गर्ने गरेको बोर्डको भनाई छ । यसबाट बचेका दूधहरु दही, घिउ, पनिर, चिज लगायतका सामाग्री निर्माण गरी बजारमा विक्री वितरण हुने गरेको बोर्डले जानकारी दियो ।

अहिलेको अवस्थामा ४०÷५० प्रतिशत दूध बढी भएका हुनाले उक्त दूधलाई धुलो दूध बनाउनका लागि राज्यले कन्भर्जन चार्जको रुपमा प्रतिलिटरमा ४ रुपैयाँ अनुदान दिए धुलो दूध बनाउन सकिने पन्तले बताए ।

यस्तै बोर्डले दूध अभावको दिर्घकालिन समस्या समाधान गर्न बाकेको कोहलपुरमा दैनिक ५० हजार लिटर क्षमताको पाउडर दूध उद्योग खोल्ने योजना अघि सारेको छ । यसका लागि बाँकी ५० प्रतिशत दूध संकलन गरी पाउडर दूधमा परिवर्तन गरिने बोर्डले जानकारी दिएको छ ।

बुटवलमा दिनको १५ देखि २० हजार लिटरसम्म दूध संकलन गर्ने योजना पनि बोर्डको छ । संकलित दूधलाई (अल्ट्रा हाई डिग्री) प्रविधिमा राखिए त्यो दूध ९ महिनादेखि १ वर्षसम्म उपभोग गर्दा स्वास्थ्यमा कुनै असर नपर्ने पन्तले बताए ।

तराइतिर दूध फालाफाल तर पहाडका अन्य क्षेत्रमा दूध पाउन गाह्रो भएकाले त्यस्तो प्रविधिको स्थापनाले दूध अपुग भएका ठाउँमा पनि दूध पुर्याउन सकिने उनले विश्वास व्यक्त गरे ।

नेपालमा गाईको वार्षिक न्यूनतम १४ प्रतिशत र भैँसीले २६ प्रतिशत दूध उत्पादन हुने गरेको छ । यसरी गाईको वार्षिक ६ सय २७ लिटर दूध र भैसीको ८ सय ९३ प्रतिशत दूध उत्पादन हुने गरेको बोर्डले जानकारी दिएको छ ।

बोर्डले आगामी २ वर्षभित्र प्रदेश नम्बर ५,६ र ७ बाट हालको दूध संकलनलाई दोब्बर बनाउने लक्ष्य लिएको छ ।


क्लिकमान्डु