‘खाद्य, आवास, कपडा, शिक्षा र स्वास्थ्य विकासको प्रस्थान विन्दु’ : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र नेपाली जनताको विजयको प्रतीक भएको बताएका छन् ।

गणतन्त्र दिवस, २०७५ का उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले हामीले मनाइरहेको विजयोत्सव सम्पूर्ण नेपालीको उत्सव भएको उल्लेख गर्दै भने ‘यो गणतन्त्र दिवस जनताको दिवस हो । आमनेपालीको दिवस हो ।

जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन हो । हाम्रो गणतन्त्र नेपाल र नेपालीका लागि ‘सर्वजन हितायः सर्वजन सुखायः’ व्यवस्था हो ।’

उनले गणतन्त्र दिवस एउटा प्रगतिशील परम्पराको थालनी र परम्पराको नाममा, जन्मसिद्ध श्रेष्ठताका आधारमा शासन गर्ने पाखण्डी व्यवस्था अन्त्य भएको दिन भएको बताए ।

‘पूर्ण लोकतन्त्र, समृद्ध नेपाल र सुखी नेपालीका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने महान् शहीदप्रति आदरका साथ श्रद्धाञ्जलि प्रकट गर्छु,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले दुनियाँमा लोकतन्त्रका मूल्य मान्यता स्थापित नहुँदै हाम्रा पुर्खाले अङ्गीकार गरेको आफ्ना प्रतिनिधि छान्ने र उनीहरूमार्फत शासनसत्ता सञ्चालन गर्ने अद्वितीय विधिको स्मरण पनि गरे ।

‘सबैलाई खाद्य व्यवस्था, सबैलाई आवास र कपडा, सबैलाई शिक्षा र सबैलाई स्वास्थ्य सुरक्षा, हाम्रो विकासको प्रस्थान विन्दु हो,’ प्रधानमन्त्री ओलीले भने ।
विकास, समृद्धि, सुशासन एवं स्थिरता गन्तव्य तथा गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचारविरुद्धको कार्य मुख्य अभियान भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘गरीबी र लोकतान्त्रिक गणतन्त्रसँगै राख्न मिल्ने विषय होइनन् ।

सुशासन र विकास आजको हाम्रो प्राथमिकता हो । यसका लागि आज असान्दर्भिक भएका हिजोका कतिपय उपयोगी नीति, विधि र संरचनाहरु परिवर्तन, परिमार्जन र संशोधन गरिने छन् । यसैमा आधारित भएर हाम्रा समग्र व्यवहारहरु रुपान्तरण गरिँदै छन् ।’

सुशासन र विकासको प्रतिबद्धतासहित संसद्बाट सर्वसम्मतिले सरकारको नीति तथा कार्यक्रम पारित भएको बताउँदै उनले यसबाट राष्ट्रिय एकता व्यापक एवं सुदृढ बन्दै गएको सुखद अनुभूति सरकारलाई भएको बताए ।

छिमेकी र अन्य मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ भएको तथा राष्ट्रिय आकांक्षा र आवश्यकता पूरा गर्न, स्रोत साधन, सामथ्र्यको प्रयोग गर्न र सहकार्य अघि बढाउन थप अनुकूलता मिलेको प्रधानमन्त्रीले उल्लेख गरे ।

‘यस बेला मूल राष्ट्रिय भावधारामा आपूmलाई समाहित नगरी पुराना, अनुचित र असान्दर्भिक सोचहरुका साथ अशान्ति र अस्थिरताको पक्षपोषण वा त्यस्ता क्रियाकलाप कदापि उचित हुन सक्दैन,’ प्रधानमन्त्री ओलीले भने ।

रोजगारीको अवसर सिर्जना, उत्पादन वृद्धिमा जोड, उपभोगका वस्तुमा आत्मनिर्भरतामा जोड दिइने बताउँदै उहाँले जनताको कष्ट हटाउनेतिर परिलक्षित विकासका आयोजना छनोट गरिने र अतिविपन्न, वृद्ध, बालबालिका, अपाङ्गता भएका, अशक्त र गर्भवती प्राथमिकतामा पर्ने जानकारी दिए । रासस


क्लिकमान्डु