‘ऋण कमाउन पो विदेश गइएछ !’



खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का रामप्रसाद आचार्य वैदेशिक रोजगारका लागि पहिलोपटक मलेसिया जाए ।

सन् २००१ मा रु ८५ हजार मेनपावर कम्पनीलाई बुझाएर मलेसिया गएका आचार्यको कमाइ करिब १० हजार रुपैयाँमात्र हुन्थ्यो ।

विदेश जाँदा काढेको ऋण तिर्नै उउनलाई हम्मेहम्मे पथ्र्यो । काम गर्ने सिलसिलामा दशौँ महिनामा घरको छतबाट लडेर उनको खुट्टा भाँच्चियो । दश महिनासम्म कमाएको पैसाले उपचार गर्न पनि पुगेन ।

सत्र महिना मलेसियामै आराम गरेर उहाँ स्वदेश फर्कनुभयो । मलेसिया जाँदाको ऋण तिर्न आचार्य रु एक लाख १५ हजार ऋण खोजेर कतार लागे ।
‘कतारमा शुरुमा भनेजस्तो काम र दाम पटक्कै भएन, सात र्षसम्म पसिना बगाएर रु तीन लाख जम्मा गरेर २०६५ सालमा घर फर्किए,’ उनले पीडा सुनाए ।

करीब ७ वर्षसम्म घरमै थकान मेट्नुभएका आचार्य २०७१ सालमा फेरि मलेसिया गए । मलेसिया पुग्नुभएको चार महिना पुग्दा नपुग्दै आचार्यको धन्नैले मात्र ज्यान बच्यो ।

‘इलेक्ट्रिसियनको काम गर्थें, काम गर्दै गर्दा छतबाट भुइँमा खसेछु,’ उनले भने, ‘एक दिनभरि होसै आएन, धन्न समयमै उपचार पाएर ज्यान बचेको छ ।’

आचार्यको ज्यान त बच्यो तर हातखुट्टा दुवै बेकामे भए । टाउकोमा समेत गहिरो चोट लागेका आचार्य त्यहीको अस्पतालमा १० महिनासम्म रहे ।
‘घरबाट ७ लाख मगाएर उपचार गरी फर्किएँ,’  विगत सम्झँदै आचार्य भन्छन्, ‘ज्यान भत्काउन र ऋण कमाउन विदेश गइएछ ।’

शारीरिक अपाङ्गता भएर घर फर्केका आचार्यले हाल, थोरै लगानीमा घरमै सानो पसल शुरु गरेका छन् । दुई छोरा र श्रीमतीको साथमा रहेका आचार्यले हप्तामा दुईपटक लाग्ने दिक्तेलबजारको हटियामा कपडा पसल राखेर व्यापार गर्दै आएका छन् । रासस


पुष्प दुलाल