तपाइ कतिमा किन्दै हुनुहुन्छ ? ह्वात्तै घट्यो तरकारीको भाऊ




काठमाडौं । कालिमाटी बजारमा बैशाख १ गते यता तरकारीको मूल्यमा कमी आएको छ । पछिल्लो समय आलु, प्याज, बन्दा, काउली, तिते करेला, मुला, बोडी, घिउसिमी लगायतका तरकारीहरुको मूल्य घटेको हो ।

अहिले तरकारीको मौसम सुरु भएकोले मूल्य घटेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठ बताउँछन् । केही तरकारीहरु भारतबाट पनि सस्तो मूल्यमा आएकोले सस्तिएको उनको भनाइ छ ।

कालिमाटीको थोक बजारमा आलुको मूल्य बैशाख अघिसम्म प्रतिकेजी ३१ रुपैयाँदेखि ३३ रुपैयाँ थियो । अहिले आलु २६ रुपैयाँदेखि २९ रुपैयाँ प्रतिकेजीमा विक्री भइरहेको कालिमाटी बजारले जानकारी दिएको छ ।

बन्दा २८ रुपैयाँ प्रतिकेजीबाट झरेर १८ रुपैयाँ प्रतिकेजीमा पुगेको छ । बन्दा ३५.७१ प्रतिशतले घटेको हो ।

स्थानीय काउली ५३ रुपैयाँ प्रतिकेजीबाट घटेर २८ रुपैयाँ प्रतिकेजीमा झरेको छ । काउलीको भाउ ४७.१७ प्रतिशतले घटेको हो ।

बोडी कालिमाटी बजारमा २८ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ । बैशाख १ गतेसम्म बोडी ८८ रुपैयाँ प्रतिकेजीमा विक्री भइरहेको थियो । बोडीमा ६८.१८ प्रतिशतले घटेको हो ।

मुलाको मूल्य २६.३२ प्रतिशतले घटेको छ । बैशाख अघि ३८ रुपैयाँ प्रतिकेजी रहेको मुला अहिले २८ रुपैयाँ प्रतिकेजीमा विक्री भइरहेको कालिमाटी बजारले जानकारी दिएको छ ।

घिउसिमी ७८ रुपैयाँ प्रतिकेजीबाट घटेर ३८ रुपैयाँ प्रतिकेजीमा झरेको छ । यसको मूल्य ५१.२८ प्रतिशतले घटेको हो । यस्तै परवल ६८ रुपैयाँबाट ३८ रुपैयाँ प्रतिकेजीमा झरेको छ । यो ४४.१२ प्रतिशतले घटेको हो ।

घिरौला प्रतिकेजी ८८ रुपैयाँबाट ४८ रुपैयाँमा झरेको छ । यो ४५.४५ प्रतिशतले घटेको हो । पाकेको फर्सी ३८ रुपैयाँ प्रतिकेजीबाट २९ रुपैयाँमा झरेको छ । यो २३.६८ प्रतिशतले घटेको हो ।

हरियो फर्सी ५३ रुपैयाँ प्रतिकेजीमा बैशाख १ गतेसम्म विक्री भइरहेको थियो । पछिल्लो समय हरियो फर्सी १९ रुपैयाँ प्रतिकेजीको दरमा विक्री भइरहेको छ । यो ६४.१५ प्रतिशतले घटेको हो ।

भिण्डी प्रतिकेजी ६८ रुपैयाँबाट घटेर ४२ रुपैयाँमा झरेको छ । यो ३८.२४ प्रतिशतले घटेको हो । रायोको सागको मूल्यमा पनि कमी आएको छ । बैशाखको सुरुमा ७५ रुपैयाँ प्रतिकेजीको रायोको साग अहिले अहिले ६५ रुपैयाँमा विक्री भइरहेको छ ।

यस्तै च्याउ १ सय ९५ रुपैयाँ प्रतिकेजीबाट झरेर १ सय ७५ रुपैयाँ प्रतिकेजीमा पुगेको छ । यो १०.२६ प्रतिशतले घटेको हो । कागती २ सय ५५ रुपैयाँ प्रतिकेजीबाट झरेर १ सय ७५ रुपैयाँ प्रतिकेजीमा विक्री वितरण भइरहेको छ ।

भेडे खुर्सानी ६८ रुपैयाँ प्रतिकेजीबाट झरेर ४८ रुपैयाँ प्रतिकेजीमा विक्री भइरहेको छ । यो २९.४१ प्रतिशतले घटेको हो । हरियो लसुन ९५ रुपैयाँ प्रतिकेजीबाट ६५ रुपैयाँमा झरेको छ ।

सुकेको लसुन (चाइनिज) १ सय ४५ रुपैयाँ प्रतिकेजीबाट घटेर १ सय २५ रुपैयाँ पुगेको छ । नेपाली लसुन १ सय २५ रुपैयाबाट झरेर ९५ रुपैयाँ प्रतिकेजीमा झरेको छ । यस्तै प्याजको मूल्य २५ रुपैयाँबाट २४ रुपैयाँमा झरेको छ ।


क्लिकमान्डु