साना किसान विकास बैंकले ५ सय ४० युवालाई इजरायल पठाउने




काठमाडौं । साना किसान विकास बैंकले यो वर्ष नेपालभरबाट ५४० जना युवालाई इजरायल पठााउन लागेको छ । इजरायली दुतावाससँगको सहकार्यमा बैंकले प्राविधिक कृषि शिक्षाका लागि युवा छनोट गरी प्रत्येक वर्ष इजराइल पठाउने गरेको छ ।

यस्तै इजरायलबाट कृषि तालिम लिएर फर्किने युवालाई विशेष अनुदान दिने तयारी भइरहेको कृषि, भूमी तथा सहकारीमन्त्री चक्रपाणी खनालले बताएका छन् ।

उनका अनुसार इजराइलमा गएर कृषिमा प्राविधिक शिक्षा हासिल गरेर आउने युवाहरुलाई नेपाल फर्के पछि नेपालमा केही गर्न प्रोत्सानका लागि अनुदान दिइन लागिएको हो ।

कृषिलाई ध्यानमा राखेर सरकारले न्यूनतम ब्याजमा ऋण उपलब्ध गराउने व्यवस्थाको लागि पनि पहल गरिएको उनले जानकारी दिए ।

‘हामीले इजराइलबाट प्राविधिक कृषि सिकेर फर्केकाहरुलाई अनुदार तोकेर दिने कार्यक्रम नै राखेका छौं, त्यो कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने र समस्या भएका ठाउँमा समाधान खोज्दै अगाडि बढ्ने सोच छ,’ मन्त्री खनालले भने ।

उनले यस्तो कार्यक्रम आगामी आर्थिक बर्षको बजेटमा आउने दाबी गरे ।

इजरायलमा २ प्रतिशत मात्र किसान भएर पनि विश्वभर तरकारी पुर्याउन सक्ने तर नेपालमा ६६ प्रतिशत किसान हुँदा पनि ५० प्रतिशत नेपालीलाई खान पुर्याउन मुस्किल पर्ने गरेको उनले बताए । प्राविधिक कुरामा नेपाल धेरै पछि परेकै कारण कृषिमा परिवर्तन अउन नसकेको मन्त्री खनालको भनाइ छ ।

साना किसान विकास बैंकको पहलमा अहिलेसम्म ५ वर्षमा २ हजार १ सय युवा किसानले इजरायल गएर कृषि प्रविधि सिक्ने अबसर पाइसकेका छन् । यसरी इजरायल गएकामध्ये १७ युवा पुन नेपाल फर्किर कृषि पेशामा संलग्न रहेको बैकका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालाले जानकारी दिए ।

अहिलेसम्म इजराइल पुगेर फर्केर आएका ५० प्रतिशत युवाले नेपालमै व्यवसायीक खेती गरेको बैंकका मुख्य प्रवक्ता कृष्ण प्रसाद लामिछानेले बताए ।

यो वर्ष गोलाप्रथाबाट छनोट हुने युवाहरु अक्टुबरसम्ममा इजराइल गइसक्ने उनले बताए । यसअघि सरकारले इजराइलबाट फरकेर नेपालमा कृषि गर्नेलाई १ लाख अनुदान तोकेको भए पनि त्यो १ वर्ष मात्र लागू भएको त्यसपछि त्यसको कुनै कार्यन्वयन नभएको उनले बताए ।


क्लिकमान्डु