सेयर बजारमा साढे ४ लाख महिला लगानीकर्ता थपिए



काठमाडौं । पछिल्ला वर्षहरुमा सेयर बजारमा महिलाहरुको आकर्षण निकै बढ्दो छ । महिला लगानीकर्ताको संख्या बढेको तथ्यांकले सेयर बजारमा महिलाहरु आकर्षित भएको पुष्टि गर्छ ।

घरधन्धामै रमाउने महिलाहरु अचेल सेयर बजार सूचक (नेप्से इन्डेक्स) को उत्तारचढाब हेरेर रमाउन थालेका छन् ।

तथ्यांककै कुरा गर्ने हो भने पनि ५ वर्षअघि सेयर बजारमा करिब १ हजार महिलाहरु मात्रै सक्रिय थिए । जुनबेला कूल लगानीकर्ताको संख्या ७ लाख थियो । अहिले १२ लाख सेयर लगानीकर्ता छन्, जसमध्ये ४ लाख ७० हजार महिला लगानीकर्ता छन् ।

सेयर ब्रोकरको कार्यालय कालिका सेकुरिटिजमा भेट भएकी गीता उप्रेती कतिपय महिलाहरु घरमै काम धन्दामा व्यस्त हुने भएकाले ब्रोकर अफिस आउन नभ्याउने र घरमै बसेर कारोबार हेर्ने/गर्ने गरेको बताउँछिन् ।

उप्रेती सेयर बजारकी सक्रिय लगानीकर्ता हुन् । सेयर बजारमा प्रवेस गर्नुअघि उनी होस्टल चलाउँथिन् । श्रीमानले सुझाब दिएपछि चलिरहेको होस्टल बेचेर उनी सेयर बजारमा हाम फालिन् ।

होस्टल बेचेको पैसा सेयरमा लगानी गरिन् । र, छाडिदिइन् । सेयर बजार बढ्यो । अनि उनलाई मनग्ये नाफा भयो । त्यसपछि आफू ब्रोकर अफिस आउन थालेको उनले सुनाइन् ।

‘पहिला फुर्सद हुँदैन थियो, कहिलेकाहीँ आउँथे, अहिले होस्टल बेचेपछि फुर्सदमा छु, त्यसैले सधै आउने गरेको छुँ । नत्र प्राय म घरमै अनलाइन बाट सेयर बजार हेर्ने गर्थे, अब बढ्न थालेको छ अनि यसो कारोबार गर्न भनेर आएकी हुँ,’ उप्रेतीले सुनाइन् ।

त्यसैगरी, अर्की महिला लगानीकर्ता दुर्गा तिवारीका अनुसार ५ वर्षअघि ब्रोकर अफिसमा २\३ जनामात्र महिला उपस्थित हुन्थे । तर, अहिले सेयर ब्रोकर अपिसमा महिला लगानीकर्ताहरुको भिड बढेको उनी सुनाउँछिन् ।

महिलाहरु प्राय घरकै व्यवहारिक काममा व्यस्त हुने भएकै कारण ब्रोकर अफिस गइरहन नभ्याउने भएका कारण ब्रोकर अफिसमा महिलाको सहभागिता कम देखिए पनि उनीहरुले घरबाटै कारोबारको जानकारी लिने गरेको उनले बताइन् । उनले १० वर्षदेखि एबीसी सेकुरेटिजमार्फत सेयर किनबेच गर्दै आएकी छन् ।

पछिल्लो समय अनलाइन आएपछि ब्रोकरलाई दिनु पर्ने कमिसन कम हुने र घरबाटै कारोबार गर्ने प्रक्रियाका कारण पनि महिला लगानीकर्तालाई सजिलो भएको उनको बुझाइ छ ।

तिवारीका अनुसार पछिल्लो समय यकिन यति नै महिला कारोबारमा भएको बताउन नसकिने भए पनि महिला लगानीकर्ताहरु सेयर बजारमा उल्लेख्य रुपमा बढ्दै गरेको उनी बुझाउँछिन् ।

ब्रमहिलाहरु प्राय सेयर बजार घट्दा ब्रोकर अफिस नआउने र सेयर बजार बढेका बेला मात्र ब्रोकर अफिस आउने गरेको कालिका सेक्युरेटिजले जानकारी दिएको छ ।

३ वर्ष यता ब्रोकर अफिस तथा एसडिसीमा महिला कारोबारकर्ताको संख्या निकै बढ्ने क्रममा रहेको ब्रोकर अफिसले जानकारी दिएको छ ।
ब्रोकर अफिसका अनुसार २० वर्षदेखि ४५ वर्षसम्मका विवाहित महिलाहरु कारोबारमा सहभागी भएको भेटिन्छन् ।

सिडिएस एण्ड क्लियरिङका प्रवक्ताका सुरेस नेउपानेका अनुसार पछिल्लो समय डिम्याट एकाउन्ट खोल्ने १२ लाख २१ हजार ४ सय ४५ जना रहेका छन् । ती मध्ये ४ लाख ६९ हजार ८ सय ५९ जना महिला लगानीकर्ता रहेका छन् ।

पछिल्ला वर्षहरुमा सेयर कारोबारमा महिलाको सहभागिता अत्याधिक बढेको इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका पौडेल बताउँछन् ।

‘साँच्चै भन्ने हो भने पछिल्ला ३/४ वर्षमा महिला लगानीकर्ताहरुको संख्या अस्वभाविकरुपमा बढेको छ, सेयर सम्बन्धी सचेतना बढेसँगै महिला लगानीकर्ताहरुको संख्यामा बढोत्तरी आएको हो,’ पौडेलले भने ।


पुष्प दुलाल