चिनियाँ कम्पनीले भन्योः नट र पिल्लर चीनबाटै ल्याउँछौं, २ बर्षमै कुदाइ दिन्छौं चक्रपथमा रेल




काठमाडौं । चिनियाँ कम्पनी सीआरसीसीले काठमाडौं उपत्यकाको चक्रपथमा २ बर्ष भित्रमा मोनोरेल (सडक माथि गुड्ने रेल) बनाइदिने प्रस्ताव पेश गरेको छ । सीआरसीसीले चक्रपथको २७.८ किलोमिटर सडकमा २ बर्षभित्रमा मोनोरेल गुडाउनका लागि काठमाडौं महानगरपालिकामा प्रस्ताव पेश गरेको हो ।

महानगरको सार्वजनिक निजी साझेदारी इकाई निर्देशक महेश काफ्लेले चिनियाँ कम्पनी सीआरसीसीले चक्रपथमा मोनोरेल बनाउनका लागि प्रस्ताव पेश गरेको जानकारी दिए ।

‘सीआरसीसीले चक्रपथमा मोनोरेल बनाइ दिन इच्छा जाहेर गरेको छ, मोनोरेलको पूर्व सम्भाव्यता अध्ययनको स्वीकृतिका लागि उसले स्वीकृति मागेको छ,’ काफ्लेले क्लिकमाण्डूसँग भने ।

‘मोनोरेलका लागि पूर्व सम्भाव्यता अध्ययन गरिसकेका छौं, महानगरबाट स्वीकृति पाएमा विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) बनाउने काम अगाडि बढाउछौं,’ सीआरसीसीका प्रतिनिधिको भनाइ उदृत गर्दै काफ्लेले भने ।

सीआरसीसीले महानगरलाई मोनोरेल बनाउनका लागि २ वटा प्रस्ताव पेश गरेको छ । उनीहरले बिल्ड वोन अपरेट ट्रान्सफर (बुट) र इन्जिनियरिङ प्रोक्युमेन्ट कन्स्ट्रक्सन एण्ड फाइनान्स (इपीसीएफ) मोडलमा मोनोरेल बनाइदिने भन्दै महानगरमा प्रस्ताव पेश गरेको हो ।

महानगरले इपीसीएफ मोडलमा मोनोरेल बनाउन दिएरमा सीआरसीसीले त्यसका लागि आवश्यक ऋण पनि खोजिदिने प्रस्तावमा उल्लेख गरेको छ । सीआरसीसीले एसियन डेभलपमेन्ट बैंक, विश्व बैंक, चीन इन्फास्ट्रक्टर डेभलपमेन्ट बैंक लगायतका बैंक तथा वित्तीय संस्थाहरुबाट सस्तो र लामो समयका लागि ऋण खोजिदिने बताएको छ ।

इपीसीएफ मोडलमा बनाउनका लागि महानगरले कूल लागतको १५ प्रतिशत रकम भने धरौटीमा राख्नुपर्ने हुन्छ । यसको कूल लागत भने डीपीआर तयार भएपछि मात्रै यकिन हुनेछ ।

कस्तो हुन्छ मोनोरेल ?
सीआरसीसीले चक्रपथमा बनाउने भनेको मोनोरेलको पूर्वसम्भाव्यता अध्ययनको केही कार्य गरिसकेको महानगरलाई मौखिक जानकारी दिएको छ ।

चक्रपथको २७.८ किलोमिटर सडक बन्ने मोनोरेल २ लेनमा गुड्ने छन् । मोनोरेलको ट्रयाकमा ८ वटा पुल बन्ने छन् ।

मोनोरेल कति बर्षमा बन्छ ?
सीआरसीसीले महानगरसँग सम्झौता भएको मितिको २ बर्ष भित्रमा मोनोरेल बनाइ सक्ने गरी प्रस्ताव पेश गरेको निर्देशक काफ्लेले बताए ।

सीआरसीसीको भनाई उदृत गर्दै काफ्लेले भने, ‘मोनोरेलका लागि नेपालमा हामीले खाल्टो मात्र खन्ने हो, आवश्यक पिल्लर, नटलगायतका सम्पूर्ण सामान चीनबाट ल्याएर जोड्ने काम गर्ने हो ।’

सीआरसीसी कस्तो कम्पनी हो ?
चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेड (सीआरसीसी) चीन सरकारको स्वामित्वमा रहेको कम्पनी हो । कम्पनीको मूख्य कार्यालय चीनको राजधानी बेइजिङमा छ ।

सीआरसीसीले सन् २०१४ मा कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कम्पनीमध्येमा विश्वको दोस्रो सर्वाधिक रेभिन्युका संकलन गरेको थियो । सो कम्पनीले एसिया, अफ्रिका, युरोपका विभिन्न देशमा रेलवे, सडक लगायतको पूर्वाधारहरु निर्माण गरिसकेको छ ।

कम्पनीले हालसालै सशस्त्र प्रहरी बलको १५ हजार स्क्वायर मिटरमा नेपाल एकेडेमीको निर्माण गरिसकेको छ ।


क्लिकमान्डु