भूकम्प पीडितलाई ३ बर्षसम्म टहरामै राखेको सरकारले मृतकको स्मृतिमा प्रदर्शनी गर्ने




काठमाडौं । सरकारले गत २०७२ बैशाख १२ गतेको विनासकारी भूकम्पको सम्झनामा प्रदर्शनी आयोजना गरेको छ । भूकम्प पछिको पुननिर्माणले गति लिन नसकेपनि सो भूकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा चीर शान्तिको कामना गर्दै प्रदर्शनी आयोजना गरेको हो ।

भूकम्पपछिको पुननिर्माणको लागि गठन भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले आफ्नै कार्यालयको ढोका प्रदर्शनी आयोजना गरेको छ । यस्तो प्रदर्शनी बैशाख १० गतेदेखि १३ गतेसम्म चल्नेछ । प्रदर्शनी विहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म चल्नेछ ।

प्राधिकरणले यस्तो प्रदर्शनीमा सहभागी हुन सबै मन्त्रालयका कर्मचारीहरुलाई पत्राचार गरेको छ । सिंहदरबार भित्रका कर्मचारी सो प्रदर्शनीमा आफूलाई पायक पर्ने समयमा जान सक्ने ब्यवस्था मिलाइएको छ ।

‘राष्ट्रिय पुननिर्माण प्राधिकरणले २०७२ बैशाख १२ गते गएको भूकम्पको सम्झामा प्रत्येक बर्ष स्मृति दिवस आयोजना गरी सो भूकम्पमा परी ज्यान गुमाउनु भएका ब्यक्तिहरुलाई स्मरण गर्दै पुननिर्माण तथा पुनर्लाभका कमलाई तिब्रता दिने प्रण गर्दै विभिन्न जानकारीमूलक कार्यक्रम आयोजना गर्दै आएको छ, तदनुरुप भूकम्पको तेस्रो स्मृति दिवसको सन्दर्भमा राष्ट्रिय पुननिर्माण प्राधिकरणले आफ्नो कार्यालय परिसरको पूर्वी द्धारमा दिवंगत आत्माहरुको चीर शान्तिको कामना गर्दै भूकम्प पश्चात भइरहेको पुननिर्माणको वर्तमान अबस्था बारे जानकारी गराउने गरी प्रदर्शन गर्न लागेको हो,’ प्राधिकरणले सरकारका मन्त्रालयहरुलाई लेखेको पत्रमा उल्लेख छ ।

भूकम्प गएको ३ बर्ष विते पनि पुननिर्माणले अझै गति लिन सकेको छैन । भूकम्प अति प्रभावित १४ जिल्लामा पीडितको घर बनिसकेका छैनन् भने प्रभावित बाँकी जिल्लाहरुमा पनि पुननिर्माण खासै सुरु भएको छैन ।

यसबीचमा संविधान जारी भएको, संविधान जारी भएसँगै करिब ६ महिना भारतको अघोषित नाकाबन्दी भएको तथा नयाँ संविधान अनुसारका संरचना (स्थानीय तह, प्रदेश र केन्द्र) तयार पार्न निर्वाचनमा बढी ध्यान केन्द्रीत गर्नु परेको जस्ता कारणले पुननिर्माणमा ढिलाइ भएको सरकारी अधिकारीहरु बताउँदै आएका छन् ।

यस्तै सरकारको नेतृत्व परिवर्तन भइरहने र सरकार परिवर्तन भएसँगै पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पनि वदलिने गलत संस्कारले पनि पुनर्मिाणमा ढिलाइ भएको छ । यस्तै पुननिर्माण सुरु गर्ने समयमा जननिर्वाचित स्थानीय सरकार नभएको जस्ता कारणले पनि पुननिर्माणमा ढिलाइ भएको छ ।

पुननिर्माणमा ढिलाइ हुदा कतिपय पीडितहरु अहिले पनि अस्थाइ टहरामै आफ्नो दैनिकी कटाउन बाध्य छन् । केही स्थानमा पुननिर्माणमा खटिएका कर्मचारीले पुननिर्माणमा सहयोगको साटो ब्यवधान खडा गरेकोले ढिलाइ भएको गुनासा पनि आउने गरेका छन् ।


क्लिकमान्डु