७ आयोजनामा २० अर्ब ५० करोड लगानी गर्दै यूरोपेली बैंक



काठमाडौं । नेपालको ऊर्जा प्रणालीको विकासमा यूरोपेली बैंकले २० अर्ब ५० करोड लगानी गर्ने भएका छन् ।

सो बैंकले विभिन्न ७ आयोजनामा उक्त परिमाणको लगानी गर्न लागेका हुन् । नेपालको ऊर्जा क्षेत्रको प्रमुख अवरोधको रुपमा रहेको प्रसारण लाइन निर्माणमा विदेशी दातृ निकायले एक पछि अर्को गर्दै सघाउन थालेको सन्दर्भमा पछिल्लो लगानी एक हो ।

यूरोपेली बैंकले प्रसारण लाइन निर्माणमा विशेष सहयोग गर्न लागेको हो ।

त्यसमा विशेष गरी चिलिमे-त्रिशूली २२० केभी, प्रसारण लाइन, त्रिशूली थ्री बी हब सबस्टेशन परियोजना, मस्र्याङदी करिडोर २२० केभी प्रसारण लाइन, समुद्रटार-त्रिशुली थ्री बी हब १३२ केभी प्रसारण लाइन रहेका छन् ।

यस्तै १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् परियोजनामा समेत यूरोपेली बैंकले लगानी गरेको छ ।

रसुवा–नुवाकोट प्रसारण परियोजना पुनःनिर्माण तथा स्तरोन्नति आयोजना, लेखनाथ-दमौली २२० केभी प्रसारण लाइन मिर्नाणका निम्ति उक्त बैंकले २० अर्ब ५० करोड रुपैयाँ ऋण उपलब्ध गराउने भएको हो ।

ती परियोजनमा युरोपेली संघ, अन्तर्राष्ट्रिय सहयोगका लागि जापानी सहयोग नियोग (जाइका), एशियाली विकास बैंक, यहाँस्थित संघीय गणतन्त्र जर्मनीको राजदूतावासलगायतले आर्थिक सहायता प्रदान गरेका छन् ।

नेपालको साताव्यापी भ्रमणमा रहेकी उक्त बैंककी एशिया-प्रशान्त विभाग प्रमुख एन्जिला मार्कारिनोले अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख केवल भण्डारीसँग गरेको भेटमा लगानी सम्बन्धी प्रतिबद्धता जनाएकी हुन् ।

बैंककी विभागीय प्रमुख उनले जलविद्युत्, वैकल्पिक ऊर्जा तथा ग्रामीण सडक निर्माणजस्ता पूर्वाधार विकासका आयोजनामा बैंकले लगानी गर्न सक्ने आशय व्यक्त गरेको बताइएको छ ।


पुष्प दुलाल