यो असारमै सूर्यविनायक-धुलिखेल सडकको प्रारम्भिक प्रतिवेदन



काठमाडौं । अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक-धुलिखेल सडक खण्डको प्रारम्भिक अध्ययन प्रतिवेदन असारसम्म तयार हुने भएको छ । जापानी सहयोग नियोग (जाइका)ले १४.७३ किलोमिटर लामो सूर्यविनायक-धुलिखेल सडक खण्डको प्रारम्भिक अध्ययन गरिरहेको छ ।

सडक विभाग वैदेशिक महाशाखाका इन्जिनियर छवी पौडेलले जाइकाले प्रारम्भिक अध्ययनको ड्राफ्ट (खाका) प्रतिवेदन महाशाखामा बुझाइसकेको जानकारी दिए ।

‘ड्राफ्ट रिर्पोट महाशाखाले अध्ययन गरिरहेको छ, ड्राफ्ट रिर्पोटमा आवश्यक कमेन्ट (सुझाव) सहित जाइकालाई फिर्ता गरिने छ, रिर्पोटमा उल्लेख गरिएको सुझावको दायराभित्र रहेर जाइकाले प्रारम्भिक अध्ययन रिर्पोट तयार पार्नेछ’ पौडेलले क्लिकमाण्डूसँग भने ।

जापान सरकारको ऋण सहयोगमा सूर्यविनायक-धुलिखेल सडक खण्ड विस्तार गर्न लागिएको हो । सो आयोजनाका लागि जापान सरकारले ०.२ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरिसकेको महाशाखाले जानकारी दिएको छ ।

जापान सरकारले उपलब्ध गराउने ऋण सहयोगको रकम प्रारम्भिक अध्ययन रिर्पोट पछि मात्र थाहा हुनेछ । प्रारम्भिक रिर्पोटमा सडक विस्तारका लागि खर्च हुने अनुमानित रकम उल्लेखित हुन्छ । सोही प्रतिवेदनमा उल्लेख भएको रकमको हाराहारीमा जापान सरकारबाट ऋण सहयोगको अपेक्षा गर्न सकिने पौडेलले बताए ।

सडक विस्तारका लागि अधिकरण गर्नुपर्ने जग्गामा जापान सरकारको ऋण खर्च हुने छैन । मूअब्जा वितरणका लागि नेपाल सरकारले लगानी गर्नुपर्ने हुन्छ ।

सडक कस्तो हुन्छ ?

सूर्यविनायक-धुलिखेल सडक खण्ड सूरुङमार्ग सहित बन्ने छ । सो खण्डको पालाँसे-साँगा भन्ज्याङमा सूरुङमार्ग बनाउन लागिएको हो ।

जापान सरकारको सहयोगमा बनेको कोटेश्वर-सूर्यविनायक सडक खण्ड जस्तै सो सडक हुने इन्जिनियर पौडेलले बताए ।

कोटेश्वर-सूर्यविनायक सडक जस्तै मोडलमा निर्माण गर्ने भनिए पनि सो सडक खण्डमा बजार क्षेत्रमा मात्र सर्भिस लेन बनाइने छ ।


क्लिकमान्डु