छाउगोठः जनावरभन्दा देवताकै डर




जाजरकोट । जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् ।

छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै डर लाग्नेगर्छ तर त्यसभन्दा बढी डर उनलाई देवताको लाग्छ । देवताको डरकै कारण उनी महिनावारी हुँदा घरदेखि टाढा जंगलछेउमा रहेको छाउगोठमा बस्ने गरेकी छन् ।

‘ममात्रै जानु परेको भए अप्ठेरो हुन्थ्यो, महिनावारी हुँदा यहाँका सबै महिला छाउगोठमै बस्छन्’, उनले भनिन्, ‘बज्यै, आमा, भाउजूले मानी आएको यो चलन हाम्रा लागि पनि नयाँ होइन, अब त नियमित जस्तै भइसक्यो ।’ गीताले जस्तै जुनीचाँदेका महिला र युवतीले छाउपडी प्रथालाई संस्कारकै रुपमा स्वीकार्दै आएका छन् । ‘छुई हुँदा घरभित्रै बस्यो भने त देवता रिसाउँछन्, अनेक समस्या आइलाग्छन्’, गीताले छाउगोठ जानाको कारण बताइन्, ‘देवता लागे भने जिन्दगीभर दुःख पाइन्छ, त्योभन्दा बरु छाउगोठमा गएर बस्यो, एक हप्ता त हो ।’ ‘देवता लाग्ने’ डरकै कारण यहाँका महिला छाउपडी बार्न बाध्य छन् ।

जुनीचाँदेकै पार्वती खड्का आदर्श माविमा कक्षा ११ मा पढ्छिन् । उच्च शिक्षा अध्ययनकै क्रममा रहेकी उनी पनि महिनावारी हुँदा छाउगोठमै पुग्छिन् । सरकारले छाउपडी प्रथा अन्त्य गर्न कानून बनाएको छ भन्नेबारे उनलाई थाहा नभएको होइन । पार्वतीलाई छाउपडी प्रथा गलत हो भन्ने थाहा छ । उनलाई पनि देवताको डरकै कारण गोठमा बस्नैपर्ने बाध्यता छ ।

पहिलेदेखि चलिआएको चलनलाई नकार्न निकै गाह्रो भएको उनको भनाइ छ । ‘महिनावारी हुँदा गोठमा गई नबसे लागो लाग्छ”, उनले भनिन् ‘देवता रिसाए हामीलाई अनर्थ हुन्छ, अनि जानुपरेन त गोठमा ?’ कक्षा ९ मा अध्ययनरत गीता खड्का पनि पार्वतीकै जस्तो भ्रममा छिन् । उनलाई पनि गोठमा बस्दा हुने अन्य डरभन्दा देवता रिसाएर पुर्याउने क्षतिको डर बढी लाग्ने गर्छ । महिनावारीको समय र सुत्केरी हुँदा घरमा बसे देवताले नाश गर्छन् भन्ने गीताको बुझाइ छ । छाउपडीप्रथा गलत हो भनेर सुन्दै र पढ्दै आए पनि आफूलाई भने देवता रिसाउने डर नै बढी लाग्ने गरेको उनले बताइन् । गाउँका सबै महिला र युवती महिनावारी र सुत्केरी हुँदा छाउगोठमै बस्ने गरेकाले आफू पनि त्यहीँ बस्ने गरेको गीताको भनाइ छ ।

गीता र पार्वती मात्र होइन, छाउगोठ जिल्लाका विकट एवं दुर्गम गाउँपालिकाका रुपमा रहेको जुनीचाँदे– ४ लुहादहका सबै महिलाको बाध्यता बनेको छ । महिनावारी हुँदा सात र सुत्केरी हुँदा १० दिन गोठमा बस्नुपर्ने बाध्यताका कारण उक्त गाउँका महिलाले विभिन्न किसिमका समस्या झेल्नुपरेको स्थानीयवासी प्रेमबहादुर खड्काले बताए । पुरानो पुस्ताको जिद्दी र नयाँ पुस्ताले त्यसैलाई स्वीकार गरेका कारण गाउँबाट छाउपडी प्रथा हटाउन नसकिएको उनले बताए ।
विद्यालयमा छाउपडी प्रथाले निम्त्याउने समस्या र यो अन्धविश्वास हो भनेर जति पटक पढाए पनि विद्यार्थी नै सो भ्रमबाट मुक्त हुन नसकेको आदर्श माविकै शिक्षक नेपालीदास चौधरीले बताए । “म आदर्श माविमा आएको करीब १८ वर्ष पूरा भयो, यहाँका अधिकांश विद्यार्थीलाई बालविवाह र छाउपडीको बारेमा जतिसुकै शिक्षा दिए तापनि यो प्रथाको अन्त्य हुनै सकेको छैन”, शिक्षक चौधरीले भने ।

विगतदेखि हजुरआमा, आमाले गरेको चलन आफूहरुले नगर्दा घरबाटै छाउगोठमा बस्न दवाव आउने गरेको स्थानीयवासी महिला बताउँछन् । सुत्केरी अवस्थामा छाउगोठको बसाइले शिशु स्याहार गर्न कठिन हुने गरेको र त्यसभन्दा पहिले धेरै बालबालिकालगायत आमाको समेत ज्यान जाने गरेको स्थानीयवासी कविता खड्काले बताइन् । यसरी यहाँका किशोरी र महिला कुसंस्कारको शिकार बन्दै आएका छन् । छाउपडीमा बस्दा बिरामी परेर प्रत्येक महिना बाह्रभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको स्थानीय स्वास्थ्यकर्मी प्रदीप थापाले जानकारी दिए ।

छाउपडी प्रथाका कारण यहाँका किशोरीको पढाइमा बाधा परेको छ । छाउपडी प्रथाकै कारण लुहादहमा रहेको विद्यालयमा अध्ययनरत किशोरी विद्यालय आउन लजाउने गरेको र कतिपयले विद्यालय नै छाड्ने गरेको शिक्षक बताउँछन् ।

के गर्दैछ स्थानीय सरकार

अन्धविश्वासका कारण छाउपडी प्रथाले विकराल रुप लिएपछि यसलाई हटाउनका लागि गाउँपालिका योजना बनाएर काम गर्ने तयारीमा छ । गाउँपालिका छाउपडी प्रथा हटाउनका लागि स्थानीय युवा र आमा समूहसँग छलफल गर्दै अगाडि बढेको छ ।

सरकारले नै छाउपडी प्रथाविरुद्धको ऐन बनाएर लागू गरेको छ । गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले सो प्रथा अन्त्यका लागि पहल भइरहेको बताए । युवापुस्ताले छाउ हटाउन खोजे पनि वृद्धवृद्धालाई बुझाउन नसकिएको केसीको भनाइ छ ।

उनले भने, ‘अब हामी विशेष कार्यक्रम बनाएर यो कुसंस्कारको विरुद्धमा अभियान सञ्चालन गर्छौं, गाउँपालिका बजेट कार्यान्वयन प्रक्रियामा छ । यो प्रथा अन्त्यका लागि गाउँपालिकाबाट बजेट पनि विनियोजित गरिएको छ ।’

सबै जनप्रतिनिधि आआफ्ना ठाउँमा सक्रिय भई छिट्टै अभियान चलाएर सो संस्कार बदल्ने कार्यमा गम्भीर हुने अध्यक्ष केसीले बताए । जिल्लाका सम्बन्धित निकायले सो प्रथा अन्त्य गर्नका लागि समन्वय गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।


क्लिकमान्डु