वैदेशिक रोजगारिमा गएका युवाले सवा करोड खर्चेर गाउँमा सडक बनाए



साङ्केतिक तस्विर

म्याग्दी । म्याग्दीको एउटा गाउँबाट रोजगारका लागि प्रवासमा गएका व्यक्तिले १ करोड २५ लाख रुपैयाँ लगानीमा ८ किलोमिटर मोटरबाटो निर्माण गरी गाउँलाई सडक सञ्जालसँग जोडेका छन् ।

रघुगंगा गाउँपालिका–१ बेगखोलाबाट रोजगारका लागि विश्वका विभिन्न मुलुकमा पुगेका बेगखोलेवासीले १ करोड २५ लाख रुपैयाँ जुटाएर बेग र बाँदुक गाउँलाइ जोड्ने आठ किमी सडक निर्माण गरेका हुन् । बेगखोला–देउराली–बेग—बादुक गाउँ जोड्ने यो सडकमा सरकारी लगानी भने छैन । हिउँद–बर्खा नियमित सवारी चल्ने यस सडकबाट गाउँलेले उत्पादन गरेको कृषि उपजको बजारीकरण, आवतजावतमा सुविधा र पर्यटकलाई समेत फाइदा पुगेको छ ।

मगर समुदायको बसोबास रहेको साबिक बेगखोला गाविसमा सडक मात्र होइन् शिक्षामा पनि प्रवासीको लगानी छ । स्थानीय महादेव माविको शैक्षिक गुणस्तरका लागि बेगखोले प्रवासीले अत्याधुनिक कम्प्युटर कक्ष स्थापना र त्यसको निरन्तरताका लागि रु २३ लाखको अक्षयकोष सञ्चालन गरेका छन् ।

‘दुई वर्षअघि पदमबहादुर पुर्जाको नेतृत्वमा स्थापना भएको कम्प्युटर कक्षमा १४ वटा ल्यापटप, प्रिन्टर र इन्टरनेटको व्यवस्था छ’, विद्यालयका प्रधानाध्यापक घनबहादुर फगामीले भने, “वार्षिक रूपमा आउने ब्याजले कम्प्युटर शिक्षक, मर्मतसम्भार र इन्टरनेटको खर्च व्यवस्थापन हुन्छ ।’

विद्यालयमा योगकुमार फगामीले व्यक्तिगत ५ लाखको पुरस्कार कोष, ६० हजार रुपैयाँकोे गरीब तथा जेहेन्दार कोष र युबहादुर गर्बुजाले रु एक लाखको शिक्षक–अभिभावक कोष स्थापना गरेका छन् ।

विसं २०२५ मा स्थापना भएको विद्यालयको स्वर्ण जयन्तीका अवसरमा प्रवासीकै अगुवाइमा विद्यालय भवन पुनर्निर्माण अभियान शुरु गरिएको छ । २ करोड रुपैयाँ लगानीमा १५ कोठे अत्याधुनिक भवन निर्माण गर्न अभियान शुरु गरिएको एनआरएनए युकेका अध्यक्ष एवं बेगखोले कल्याणकारी समाज युके उपशाखाका अध्यक्ष योगकुमार फगामीले जानकारी दिए ।

शिक्षा, सडक र पदमार्ग निर्माणका लागि प्रवासी बेगखोलेवासीले ४ करोड रुपैयाँभन्दा बढी लगानी गरेको फगामीले जानकारी दिए । बेगखोलाबाट विश्वका विभिन्न मुलुक पुगेका बेगखोले कल्याणकारी समाजमार्फत संगठित हुँदै आएका छन् । बेलायत, अमेरिका, हङकङ, दक्षिणकोरियामा यसको उपशाखा छ ।

‘विदेश पुगे पनि गाउँका लागि केही गरौँ भन्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत एकजुट भएका छौं,’ फगामीले भने, ‘आफ्नो कमाईको केही हिस्सा गाउँको विकासमा लगानी गर्न जुटेका हौँ ।’


क्लिकमान्डु