प्रधानमन्त्री ओलीको अभियानमा गगन थापाले साथ दिएपछि….



काठमाडौं । सरकारले आजदेखि शुरू गरेको विद्यार्थी भर्ना अभियानमा नेपाली कांग्रेसका नेता गगन थापा पनि सहभागी भएका छन् ।

प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा सरकारले आर्थिकरुपले विपन्न बालबालिकालाई पढाउनका लागि राजनीतिक दलका नेता, सरकारी कर्मचारी र व्यवसायीहरुलाई कक्षा १२ सम्मको शिक्षाको जिम्मा लिन आग्रह गरेको थियो ।

प्रधानमन्त्री ओलीले मुगुको मुगुम कार्मारोंग गाउँपालिका वडा नं. ८ निवासी ६ वर्षिय बालिका थिल्ने साङ तामाङलाई स्थानीय विद्यालयमा भर्ना गरी अभिभावकत्व ग्रहण गरेका थिए ।

सरकारको उक्त कार्यक्रमलाई साथ दिँदै नेता थापाले बुढानिलकण्ठ नगरपालिका, चुनिखेलको वालउद्वार विद्यालयमा कक्षा १ मा रशिका श्रेष्ठलाई भर्ना गरेका छन् । अब श्रेष्ठको कक्षा १२ सम्मको अध्ययन, पाठ्यपुस्तक, पोशाक लगायतको सम्पुर्ण जिम्मेवारी थापाको हुनेछ ।

‘पढ्न नपाएका थुप्रै भाइवहिनीहरू हाम्रो वरिपरि नै छन्, हाम्रो सानो सहयोगले तिनले पढ्न पाउनेछन्, यही बिद्यालयमा पनि यस्तो आवश्यकता भएका अन्य धेरै विद्यार्थीहरु छन्,’ बालिकालाई स्कुल भर्ना गरेको तस्बीरसहित थापाले आफ्नो फेसबुक पेजमा लेखेका छन् ‘आउनुहोस् अभियानमा सहभागी बनौं । म बन्छु जिम्मेवार, कर्तब्य सँगै अधिकार ।’

उनी सोही क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसदसमेत हुन् ।


पुष्प दुलाल