श्वेतपत्रमा अर्थमन्त्री र कांग्रेस दुबै झुट (भिडियोसहित)



काठमाडौं । सरकारले ल्याएको श्वेतपत्रको विषयलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच आरोपप्रत्यारोप चलिरहेको छ ।

सत्तापक्षले अर्थतन्त्रका नकरात्मक सूचकहरुलाई हाइलाइट गर्दै यसअघिको शासकले अर्थतन्त्र ध्वस्त पारेको आरोप लगाएको छ ।

प्रतिपक्षले भने यसअवधिमा धेरै सकरात्मक कामहरु भएको तर अर्थमन्त्री डा. युवराज खतिवडाले नकरात्मक कुरालाई मात्रै प्रचारमा ल्याएको आरोप लगाएको छ ।

लामो समय कम्युनिष्ठ आन्दोलनमा निकट रहेका अर्थ विज्ञ दिपेन्द्र बहादुर क्षेत्री भने श्वेतपत्रमा सत्तापक्ष र प्रतिपक्ष दुबै गलत रहेको बताउँछन् ।


अर्थमन्त्री डा. खतिवडाले यसअघिको सरकारले सिर्जना गरेको थप आर्थिक दायित्व यो सरकारले ब्यहोर्न नसक्ने आशयसहित बडो चलाखीपूर्ण तरिकाले श्वेतपत्र ल्याएको क्षेत्री बताउँछन् ।

‘यसअघिको सरकारले बाँडेको पैसा हामी दिँदैनौं भन्यो भने त जनताले रुचाउने कुरा हुँदैनथियो । त्यो दिनुपर्ने भयो भन्ने चिन्ताले अर्थमन्त्रीजीले देशको ढुकुटी नै रित्तो भयो भन्दिनु भो । ढुकुटी नै रित्तो भएपछि त हामीले त्यस्ता निर्णय कार्यान्वयन गर्न बिचार गर्नुपर्ला भन्ने भयो नि । वास्तवमा ढुकुटी रित्तिएको चाहिँ थिएन, ढुकुटी रित्तो भयो भन्नु झुट थियो’ उनले भने ।

प्रतिपक्षी कांग्रेसले श्वेतपत्र नकरात्मक मात्रै छ भनेर गरिरहेको आलोचनालाई लक्षित गर्दै क्षेत्रीले थपे,– श्वेतपत्रमा नकरात्मक सूचकांकहरु मात्रै उल्लेख गरिएका छन् भन्ने मलाई लाग्दैन, खाली यस अवधिमा भएका राम्रा कुराहरु उल्लेख नगरिएका हुन्, राम्रा कुराहरु पनि उल्लेख गरिएको भए अझ राम्रो हुन्थ्यो ।’

महंगी ४ प्रतिशतमा रहनु, ६ प्रतिशत आर्थिक वृद्धिदर हुनु, बजेटको ५३ प्रतिशत आफ्नै स्रोतबाट जुट्नु, यसै आर्थिक वर्ष १४ अर्बभन्दा बढी प्रत्यक्ष बैदेशिक लगानी भित्रिनु अर्थतन्त्रका लागि सुखद पक्ष भएको उनको भनाइ छ ।

‘यस्ता सकरात्मक कुराहरु त्यो किन श्वेतपत्रमा अटाएनन् ?’ प्रश्न गर्दै क्षेत्रीले भने, ‘राम्रा कुराहरु उल्लेख गरेर किन समय खर्च गर्ने भन्ने पनि अर्थमन्त्रीजीलाई लागेको हुन सक्छ ।’


पुष्प दुलाल