फर्केर हेर्दा २०७४ साल सेयर लगानीकर्ताले गुमाएको वर्ष



काठमाडौं । २०७४ साल आजदेखि सकिएको छ । सेयर बजारका लगानीकर्ताको लागि यो वर्ष भने प्रियकर नभएर बिदा भएको छ ।

२०७४ सालको सुरुवातमा १६५१.६१ अंकमा रहेको नेप्से परिसूचक वर्षको अन्त्यमा आउँदा १२८८.५५ बिन्दुमा पुग्यो ।

एकवर्षको अवधीमा नेप्से परिसूचक ३६३.०६ अंकले घट्यो । अझै नेप्से परिसूचक ११६८.५५ बिन्दुमा नै झर्यो । सेयर बजारले यो वर्षको सुरुवातको महिना केही बढ्ने ट्रेण्ड देखाएपनि वर्षभरी घट्ने टे«ण्डमा नै रह्यो ।

वर्षको सुरुवात नै निर्वाचनको माहोलबाट भएको थियो । पहिलो पटक २० वर्ष स्थानीय तहको निर्वाचन भयो । त्यसपछि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयो । स्थाई सरकारसँगै सेयर बजार बढ्ने अपेक्षा भने पुरा भएन ।

खासगरी बैकिङ क्षेत्रमा देखिएको तरलता अभावको कारण ब्याजदरमा तीव्र उतारचढाव भयो । मुद्दती निक्षेपमा नै १४ प्रतिशतसम्म ब्याजदर दिने अवस्था सिर्जना भयो । जसले गर्दा ऋणको ब्याजदर १८ प्रतिशतसम्म पुग्न खोजेको देखियो ।

दोस्रो बजारका लगानीकर्तालाई लगातारको घटाईले राम्रो नदिएपनि बजार सुधारका लागि भने यो वर्ष केही कामहरु भए ।

जस्तो सेयर बजारमा प्राथमिक सेयरको लागि घण्टौ लाइन बसेर आइपियो भर्नुपर्ने अवस्था थियो । आस्वा लागु गरेर त्यो प्रणाली अन्त्य भएको थियो । अहिले घरमा नै बसेर सेयर भर्न सकिने सि आस्वा लागु भयो । सेयर बजारको विकासको लागि यो वर्ष यसलाई ठूलो सफलताको रुपमा लिन सकिन्छ ।

यस्तै बजारमा लगानीकर्ताले पनि मार्केट डेप्थ हेर्ने सुविधा पाए । जसले कुन कम्पनीमा लगानीकर्ताको कस्तो खालको चाप छ त्यो जानकारी सबै लगानीकर्तालाई भयो ।

राष्ट्र बैंकले २०७४ असार मसान्तसम्ममा बैंकहरुको पुँजी बढाउनुपर्ने नीतिको कारण यो वर्षभरी नै सेयर बजारमा आपूर्ती भने अत्याधिक बढ्यो । आपूर्ति अनुसारको सेयर खरिदकर्ता भेटिएनन् ।
कारोबार रकममा पनि उतारचढावको रुपमा यो वर्ष देखियो ।

वर्षको अन्तिम दिन सेयर खरिदबिक्री अनलाइन मार्फत दिन सकिने व्यवस्था ल्याएको हुँदा २०७५ भने सेयर लगानीकर्ताको लागि थप राम्रो हुने देखिन्छ । पूर्ण रुपमा अनलाइन कारोबार पनि लागु हुने तथा तरलता समस्या समाधान हुँदा लगानीकर्ताले २०७५ लाई भने कमाउने वर्षको रुपमा लिएका छन् ।


क्लिकमान्डु