पहिरो प्रकोप सेन्टर स्थापनाबारे छलफल



काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपाल–जापान मैत्रिपुर्ण जलजन्य प्रकोप न्युनिकरण संघ(एनएफएडी) का महासचिव टोसीओ मोरीबीच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित उर्जामन्त्रालयमा शुक्रवार भएको भेटवार्तामा नेपालको पहिरो नियन्त्रण र विपद व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

महासचिव मोरीसँगको भेटमा उर्जामन्त्री पुनले जापान र नेपालको बीचमा लामो समयदेखी मैत्रिपूर्ण सम्बन्ध रहेको भन्दै नेपालको विकासमा जापानले निस्वार्थ गरेको सहयोगको प्रशंसा गरे । उनले आगामी दिनमा समेत जापानसंगको सम्बन्ध अझै सुमधुर हुने विश्वास व्यक्त गरे ।

भेटमा सेण्डाई फ्रेमवर्क २०१५ बारे छलफल हुनुका साथै नेपालमा प्रत्येक वर्ष बाढी र पहिरोका कारण हुने धनजनको क्षतीलाई कम गर्ने उपायका बारेमा समेत छलफल भएको थियो ।

उर्जामन्त्री पुनसँगको भेटमा महासचिव मोरीले पहिरो आउनुभन्दा पहिले जानकारी दिने प्रविधि भित्राउनुपर्नेमा जोड दिए । उनले पहिरो नियन्त्रणका लागी सहयोग गर्न आफुहरु तयार रहेको भन्दै त्यसका लागी पहिरो प्रकोप सेन्टर स्थापना गर्न मन्त्री पुनलाई सुझाव दिए ।

जवाफमा मन्त्री पुनले पहिरो प्रकोप सेन्टर स्थापनाबारे आफु सकरात्मक रहेको भन्दै त्यसका लागी सम्बन्धीत निकायसंग छलफल गरेर छिट्टै सरकारले निर्णय गर्ने बताए ।


क्लिकमान्डु