भारतले हवाइ प्रवेशको नयाँ विन्दु नदिएपछि आइकाओ बैठकमा प्रस्ताव लादै नेपाल




काठमाडौं । भारतले आफ्नो सीमानाबाट नयाँ हवाई प्रवेश विन्दु दिन आनाकानी गरेपछि नेपालले यो विषय अन्तर्राष्ट्रिय मन्चमा उठाउने भएको छ । नेपालले यो बिषय हवाइ सेवा नियामकहरुको विश्वस्तरीय साझा संस्था नागरिक उड्डयन संगठन (आईकाओ) वैठकमा उठान गर्ने भएको हो ।

भारतले आफ्नो सिमानाबाट हवाइ जहाज प्रवेशका लागि नयाँ विन्दु दिन आलटाल गरेपछि नेपाल नागरिक उड्डयन प्राधिरकणले बाध्य भएर नयाँ हवाई प्रवेश विन्दुको विषय आईकाओको वैठकमा लैजान लागेको स्रोतले जानकारी दियो ।

‘भारतीय पक्षसँग नयाँ हवाई प्रवेश विन्दुको विषयमा बारम्बर छलफल भएपनि टुंगो लागेन, अब नेपालको अन्तिम विकल्प आईकाओको बैठकमा कुरा राख्ने हो,’ प्राधिकरण स्रोतले भन्यो ।

नेपाल आउने जहाज अहिले नेपाल भारतको सीमाना सिमरा विन्दुबाट मात्रै प्रवेश गर्न पाउँछन् । एउटै बिन्दु भएका कारण सिमरा विन्दुका ट्राफिक जाम बढ्दो छ ।

भारतीय पक्षले छलफलका क्रममा सकारात्मक प्रक्रिया दिए पनि कार्यान्वयन हुन सकेको छैन ।

नेपालले भारतसँग नेपालगञ्ज प्रवेश विन्दुलाई प्राथमिकतामा राखेर कुरा गरेपनि भारतीय पक्षले भने नेपालगञ्ज प्रवेश विन्दु दिएको छैन । भारतीय पक्षले जनकपुर विन्दु दिने भनेको छ । जनकपूर बिन्दु दिदा सिमरा बिन्दु बन्दु गर्नुपर्ने उसको शर्त छ । भारतले विराटनगर विन्दु दिन भने सकारात्मक रहेको बताउँदै आएको छ ।

नेपालले महेन्द्रनगरबाट जहाज नेपाल प्रवेश गर्ने र झापाको मेची बिन्दुबाट बाहिरिने अनुमति दिन भारतसँग माग गरेको छ । तर पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा तथा केपी ओलीको यसअघिको प्रधानमन्त्रीत्वकालको उच्चस्तरी भारत भ्रमणबाट नयाँ प्रवेश विन्दु टुंगो लगाउन नसकेपछि प्राधिकरणले आईकाओको बैठकमा प्रस्ताव लाने गृहकार्य गरेको हो ।


क्लिकमान्डु